राक्सिराङ–पुस ३० गते ।मकवानपुरको राक्सिराङ गाउँपालिकाको गाउँसभाको ११ औं अधिवेशन गाउँपालिकाको प्रशासनिक भवन रहेको चैनपुरमा भएको छ । गाउँसभाले राक्सिराङ गाउँपालिकालाई स्मार्ट गाउँपालिकाको रुपमा अघि बढाउनका लागि विद्युतीय सुशासन प्रणालीको सुरुवात गरिएको छ भने भू उपयोग नीति समेत पारित गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको गाउँसभा उद्घाटन कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको प्रमुख आतिथ्यता रहेको थियो ।

गाउँसभा उद्घाटन गर्दै बागमती प्रदेशका प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङसहित गाउँपालिकाका जनप्रतिनिधिले विद्युतीय सुशासन प्रणालीको उद्घाटन गर्नु भएको थियो ।

विद्युतीय सुशासन प्रणालीअन्तर्गत वडागत जनसंख्या विवरण, धर्म, साक्षरतालगायत घरमुलीको फोटोसहितको विवरण अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरिएको अध्यक्ष मल्लले बताउनुभयो । अनलाइनमार्फत नै गाउँपालिका अध्यक्षलाई गुनासो राख्नेदेखि न्यायिक समितिमा उजुरी गर्न सकिने व्यवस्थासमेत गरिएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य संस्थाको विवरण पनि अनलाइनमार्फत नै हेर्न सकिने गरी व्यवस्था गरिएको छ ।

यस्तै गाउँपालिकाले भूउपयोग नीति तथा भूमि व्यवस्थापन योजना पनि बनाएको छ । गाउँसभाबाट पारित उक्त नीतिको पनि शुक्रबार नै विमोचन गरिएको थियो । गाउँसभाको बैठकमा चालु आर्थिक वर्षको बजेट संशोधन प्रस्तावसमेत पारित गरिएको थियो । गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको हो । कार्यपालिका सदस्य सञ्जय कोइरालाले गाउँपालिकाको अर्धवार्षिक समीक्षा प्रस्ताव सभामा पेश गरेका थिए ।

उक्त प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ । यस्तै न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा न्यायिक समितिको नाम अनुमोदन प्रस्ताव पनि पारित गरिएको छ । यस्तै कार्यपालिका सदस्य बाबुलाल स्याङ्तानले पेश गरेको २०७७/७८ सम्मको बेरुजू संपरीक्षणको लागि महालेखा परीक्षकको कार्यालयलाई प्रस्ताव गर्ने सम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट पारित भएको छ ।

त्यसैगरी गाउँसभामा कार्यपालिका सदस्य सूर्यबहादुर मोक्तानले प्रस्तुत गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन अन्तिम नतिजा सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित गरिएको छ । सभामा समापन मन्तब्य राख्दै अध्यक्ष मल्लले आगामी फागुन महिनासम्ममा सबै वडाहरुमा बिजुली बल्ने गरी काम थालिएको बताउनुभयो ।

उहाँले एडिबी, चेपाङलाई बिजुली कार्यक्रम लगायतका परियोजनाहरु चलिरहेको भन्दै आफूहरुकै अगुवाईमा गाउँपालिकाभर बिजुली बाल्ने कार्यले सार्थकता पाउने बताउनुभयो । गाउँसभाको उद्घाटन सत्रमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङलाई सम्मान गरिएको छ । चेपाङ समुदायबाट देशमै पहिलो र राक्सिराङ गाउँपालिकाबाट पनि पहिलो मन्त्री बन्न सफल भएको भन्दै उहाँलाई शुभकामनासहित गाउँपालिकाले सम्मान गरेको हो ।

राज्यमन्त्री चेपाङ स्थानीय तहको निर्वाचनपछि राक्सिराङ गाउँपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँले कार्यपालिका सदस्यबाट राजीनामा गरी नेपाली काँग्रेसको प्रदेश सभामा समानुपातिक तर्फ उम्मेदवार बनी सांसद हुनु भएको थियो । काँग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलको गठबन्धन बनेपछि उहाँ राज्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here