पुष–२८ गते बुधबार । बिहिबार मनहरी अस्पतालको सेवा ठप्प हुने भएको छ । मनहरी अस्पतालका १२ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बिहिबारका लागि आकस्मिक र प्रसुति सेवा बाहेकका अन्य सेवाहरु बन्द गरिएको मनहरी कोभिड अस्पतालका व्यवस्थापक ज्योतिराज लुईटेलले बताउनुभयो ।

१२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि म्यानपावर अभाव भएको भन्दै एक दिनको लागि आकस्मिक र प्रसुति बाहेकका सेवाहरु बन्द गर्न लागिएको हो । मंगलबार देखि नै अस्पतालले प्रवाह गर्दै आइरहेको एक्स–रे सेवा बन्द भइसकेको छ ।

दिनप्रतिदिन जनलहरमा नै कोरोना संक्रमण देखिरहेको अबस्थामा यसरी स्वास्थ्य सेवा बन्द हुँदा स्थानीयमा भने समस्या हुने देखिएको छ । मनहरीमा बुधबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मनहरी अस्पतालमा ४८ जनाको एन्टिजेन परीक्षणमा १० जना पुरुष र १८ जना महिला गरी २८ जनामा संक्रमण पुष्टि भएको हो । २८ जना संक्रमितमध्ये ८ जना स्वास्थ्यकर्मी रहेका छन् ।

सोमबार २, मंगलबार २ र बुधबार ८ गरी स्वास्थ्यकर्मीमामा मात्र हालसम्म १२ जना संक्रमित भइसकेका छन् । दिनप्रतिदिन स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखापरिरहदा अस्पतालले प्रवाह गर्ने सेवामा भने अप्ठ्यारो पर्दै गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here