मनहरी–पुस २१ गते । २०६५ सालदेखि निरन्तर काठमाडौँमा ज्यामी काम गर्न जानु भएका धर्मराज थिङलाई दुई बर्षअघि कोरोना संक्रमणको त्रासदीसँगै घर फिर्ता हुने साइत जु¥यो । काठमाडौँमा ज्यामी काम गर्दै आइरहेका थिङ घर फर्कने बेलामा बढुवा भएर मिस्त्री भइसक्नु भएको थियो । उहाँलाई अहिले पनि दर्जनौँ घरका पिलरहरुमा फलामे रड बाँधेको, गाह्रो लगाएको र प्लास्टर गरेको झल्झली सम्झना छ ।

टनेलमा तरकारी टिप्दै धर्मराज थिङ ।

यो कथा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ३ औले घर भएका ३६ बर्षीय युवा धर्मराजको हो । विवाह गरेपछि परिवार पाल्नका लागि गाउँ नछोडी सुखै थिएन । त्यसैले खाने लाउने उमेरका धर्मराजले भर्खरै विवाह गरेकी श्रीमतीलाई गाउँमै छाडेर काठमाडौँ जानुपरेको थियो । काठमाडौँको महँगो बसाइ, खानपान अनि कोठाभाडामै खर्च हुन्थ्यो । दिनभरि थकित भएर फर्केको शरीर कतिखेर निदाउँथ्यो थाहै हुन्थेन । भोलिपल्ट विहान झल्याँस्स ब्युँझिएर आमाबुवा, श्रीमती र छरछिमेक अनि गाउँघरका पाखा पखेरा सम्झँदै फेरि काममा जानु उहाँको नियति नै थियो ।

धर्मराज थिङको टनेल ।

पछिल्ला दुई बर्षयता चाहिँ उहाँले काठमाडौँका ती सबै पीडा, ब्यथा र कथाहरुलाई बिर्संदै जानु भएको छ । कोरोनाका कारण सरकारले लकडाउन गर्ने घोषणा गरेपछि गाउँ फर्कनु भएका उहाँ अब कहिल्यै काठमाडौँ नजाने बताउनुहुन्छ । हुर्किरहेका १४ र ११ बर्षका दुई छोरा, श्रीमती र आमाका साथ गाउँमा रहिरनु भएका धर्मराजले अचानक बाटो मोडेर घर निर्माणको कामबाट तरकारी खेतीमा लागेपछि यस्तो अठोट गर्नु भएको हो ।

धर्मराज थिङको टनेलमा उत्पादित खुर्सानी ।

भिरालो जमिनमा घरभन्दा तल्लो गह्रामा निर्माण गरिएको एउटा टनेलले उहाँलाई राम्रै आम्दानी दिइरहेको छ । टनेलभित्र फलिरहेको गोलभेँडा, खुर्सानी र रायोको साग देखाउँदै धर्मराज भन्नुहुन्छ–‘यही हरिया र ताजा तरकारीको मायाले अब मलाई काठमाडौँ फर्कने बाटो रोकेको छ ।’
एडब्लुओ इन्टरनेशनलको आर्थिक सहयोगमा नारी सीप सृजना केन्द्र हेटौँडाले सञ्चालन गरेको मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना अन्तर्गत पाँच दिने तरकारी खेती तालिममा सहभागी हुन पाउनु भएका धर्मराजलाई सोही तालिमले बाटो मोड्ने अबसर दिलायो ।

टनेलमा गोलभेँडालाई शितबाट जोगाउन स्प्रे गर्दै किसान गोपाल रानामगर ।

तालिम लगत्तै परियोजनाले उहाँका लागि एउटा टनेलको व्यवस्था गरिदिएको थियो । अब आफ्नै लगानीमा थप ३ वटा टनेल बनाउने तयारी गरिरहनु भएका धर्मराजले गाउँमै तरकारी खेती गरेर मनग्य आम्दानी गर्न सकिने र मानव बेचबिखन वा श्रमशोषणको जोखिम मोल्नुपर्ने बाध्यताबाट मुक्ति पाइएको बताउनुहुन्छ ।

धर्मराजजस्तै अन्य किसानहरु पनि गाउँमै तरकारी खेतीमा भविष्य खोजिरहनु भएको छ । राक्सिराङ गाउँपालिका २ सुनारीसौँरा घर भएका गोपाल रानामगर अर्का नमूना कृषक हुनुहुन्छ । जसले सुरुमा २ वटा टनेल बनाएर गोलभेँडा खेती सुरुवात गर्नु भएको थियो । अहिले उहाँले घरभन्दा ७ सय मिटर पारिपटि रहेको कुँडुले गाउँमा अर्काे ५ वटा टनेल थप्नु भएको छ ।

गोपालको प्लाष्टिक टनेल ।

गाउँमा हुने धान, मकै, कोदोजस्ता परम्परागत खेतीमा अभ्यस्त भइरहनु भएका गोपाललाई कता कता तरकारी खेती गर्ने हुटहुटी चल्यो । भाट्टी गाउँमा टनेलमा तरकारी उत्पादन गरेको देखेका गोपालले त्यसैगरी आफ्नो खेतमा दुईवटा टनेल निर्माण गर्नुभयो ।

स्थानीय स्रोत साधन प्रयोग गरेर निर्माण गरिएको टनेलले बार्षिक रुपमा उत्पादन दिएपछि तेल मसलाका लागि अतिरिक्त काम गर्नुपर्ने आवश्यकता हरायो । ‘बर्षभरि यही गोलभेँडा स्याहार गर्ने हो भने ९ महिनाजति उत्पादन दिन्छ’, गोपाल भन्नुहुन्छ–‘बाँकी ३ महिनामा अरु सिजनेबल खेती पनि गर्नुपर्छ ।’

श्रीमती र दुई छोराका साथ जीवन यापन गरिरहनु भएका गोपालले अबको यात्रालाई व्यवसायिक तरकारी खेतीमै निरन्तरता दिनेमा दृढ हुनुहुन्छ । ‘पाँच दिने तरकारी खेती तालिम र विभिन्न भ्रमणहरुले मलाई तरकारी खेती गर्नका लागि निकै हौसला दिएको छ’, गोपालको भनाई छ–‘अब यसलाई नै म जीवन पर्यन्त अघि बढाउनेछु ।’ थप अरु केही टनेलहरु समेत थप्ने योजना बनाइरहनु भएका गोपालले टनेल थप गर्न र टनेलमा लाग्ने नेटको लागि समेत सहयोग प्राप्त गर्न सकेमा अझ व्यवस्थित ढंगले व्यवसायिकता दिन सकिने बताउनुभयो ।

धर्मराज र गोपालका उत्साहका यी प्रतिनिधि कथाहरुले समाजमा स्वरोजगारी सिर्जनाका लागि फड्को मार्दै गरेको सूचकको काम गर्दछ । गाउँमा केही पनि गर्ने अबसरै छैन भन्नेहरुका लागि उत्साही यी किसानहरु प्रेरणाका स्रोत हुन् । यतिखेर स्थानीय सरकारले निर्वाचित भएर आएको पाँचौ बर्षमा युवालाई स्वरोजगारमुखी बनाउनेतिर ध्यान दिएको छ ।

गोपालको प्लाष्टिक टनेल ।

राक्सिराङ गाउँपालिका ३ नं वडाध्यक्ष बाबुलाल स्याङ्तान पहिलो, दोस्रो, तेस्रो र चौथो बर्षमा भौतिक संरचनाहरु निर्माणका लागि बढी जोड दिएको सरकारले पाँचौ बर्षमा आएर स्वरोजगारमुखी काममा ध्यान दिएको बताउनुहुन्छ । नेपालजस्तो विकासोन्मुख देशबाट अन्य देशमा युवाहरु पठाएर समृद्धि हासिल नहुने भन्दै असुरक्षित वैदेशिक रोजगारीका नाउँमा मानव बेचबिखन र श्रमशोषण भइरहेकोप्रति वडाध्यक्ष स्याङ्तानले सचेत हुनुपर्ने बेला आएको बताउनुभयो ।

परियोजना अन्तर्गत राक्सिराङ गाउँपालिकाको वडा नं १, २, ३ , ४ र ५ मा छलफल केन्द्रहरु निर्माण भएका छन् । छलफल केन्द्रमा असुरक्षित बसाई सराई अर्थात वैदेशिक रोजगारीसम्बन्धी समस्याहरु, समाधानका उपायहरुको खोजी हुने गर्दछ । कतिपय अबस्थामा त विदेश जान ठीक्क परेका युवाहरुले भिसा नै खारेज गरी स्वरोजगारी सिर्जना गर्नेतर्फ लागेको पाइन्छ । यस्तै उदाहरण हुनुहुन्छ राक्सिराङ गाउँपालिका १ कि रश्मिता रुम्बा । उहाँ वैदेशिक रोजगारीमा जाने निश्चित भएर म्यान पावर कम्पनीमा पासपोर्ट बुझाएकी युवा हुनुहुन्छ । तर, नारी सीप सृजना केन्द्रले प्रदान गरेको ५ दिने बाख्रापालन तालिम र दुई दिने व्यवसायिक योजना निर्माण तालिममा सहभागी भएपछि उहाँले म्यानपावर कम्पनीबाट आफ्ना कागजपत्र फिर्ता गरेर यतिखेर बाख्रापालनमा लाग्नु भएको छ ।

परियोजना अन्तर्गत प्राप्त भएको दुईवटा बाख्रा र आफ्नो लगानीमा समेत उहाँ अहिले व्यवसायकि बाख्रापालनमा अग्रसर हुनुहुन्छ । गाउँमा सञ्चालित छलफल केन्द्रमा छलफलपछि तालिम र सहयोग लिनु भएकी रुम्बा वैदेशिक रोजगारीको यात्रा त्यागेर स्वदेशमै काम गर्ने सोचमा पुग्नु भएको मकवानपुरका मानव वेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना राक्सिराङ गाउँपालिका क्षेत्र हेर्नुहुने फिल्ड संयोजक मेम्बर लामाले बताउनुभयो ।

गोपालको प्लाष्टिक टनेलमा ढकमक्क फलेका गोलभेँडा ।

परियोजनाको लक्ष्य मानव बेचबिखनको जोखिम घटाउने र असुरक्षित बैदेशिक रोजगारीलाई न्यूनिकरण गराउँदै लैजाने र वैदेशिक रोजगारीमा जानेहरुलाई सुरक्षित ढंगले जानका लागि सचेत पार्ने रहेको कार्यक्रम संयोजक ज्योति बम्जन बताउनुहुन्छ । ‘हामीले युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण निर्माणका लागि व्यवसायिक सीप र दक्षता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गरेका छौँ’, कार्यक्रम संयोजक बम्जनले भन्नुभयो–‘तालिमसँगै पशुपालन, तरकारी खेती लगायतका कामहरुमा सहयोग गर्ने गरेका छौँ । गाउँमै स्वरोजगारी सिर्जना गरी असुरक्षित बसाई सराई र स्थानागमनलाई रोक्नु हाम्रो लक्ष्य हो ।’

सन् २०१९ बाट सुरु भएको यो परियोजना बागमती गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ मा समेत सञ्चालित छ । स्थानीय सरकारको गतिलो सहयोगीको रुपमा मानव बेचबिखन रोकथामबारे सचेतना फैलाउने र युवाहरुलाई आत्मनिर्भर बनाउने कार्यमा परियोजनाले सहयोग गरिरहेको बागमती गाउँपालिका उपाध्यक्ष धनमायाँ स्याङ्तान बताउनुहुन्छ ।

(मकवानपुरमा मानव बेचबिखन रोकथाम र सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजनाको प्रभाव विश्लेषण गरी तयार पारिएको सामग्री)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here