मनहरी–पुस १३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मकवानपुरमै ज्येष्ठ नागरिक अस्पताल बनाउने होमवर्क अघि बढेको बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य समेत रहनु भएको उहाँले पार्टीको मनहरी गाउँपालिका ७ नं वडा सम्मेलनलाई सम्बोधन गर्दै सकेसम्म मकवानपुर जिल्लामै ज्येष्ठ नागरिक अस्पताल निर्माण अघि बढाउन खोजिएको बताउनुभयो । ‘ज्येष्ठ नागरिक अस्पतालका लागि उपयुक्त जग्गा खोज्नका लागि तीन सदस्यीय समितिले काम गरिरहेको छ’, मन्त्री खतिवडाले भन्नुभयो–‘समितिले मकवानपुरमै जग्गा फेला पारेको खण्डमा ज्येष्ठ नागरिक अस्पताल मकवानपुरमै बनाउने गरी प्रक्रिया अघि बढाउनेछु ।’

उहाँले कोरोना बिरुद्धको खोपको कुनै समस्या नरहेको भन्दै पर्याप्त रुपमा खोप लगाउने कार्यलाई अघि बढाउन सबै स्वास्थ्य संस्थाहरुलाई सक्रिय पारिएको बताउनुभयो । केही समयभित्रै बुस्टर डोज खोप लगाउने व्यवस्था समेत मिलाइने उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय स्तरमा बालबालिकाका लागि समेत खोपको आविस्कार भई प्रयोगमा आएमा नेपालले पनि उक्त खोप खरिद गरेर बालबालिकाहरुलाई लगाउने कामलाई प्रभावकारिताका साथ अघि बढाउने उहाँले बताउनुभयो ।
राजनीतिक प्रसंगमा उहाँले केपी ओलीले पटक पटक मारेको प्रतिनिधि सभा बैठकमा अहिले रमिता देखाउने काम भइरहेको बताउनुभयो । ‘संसद मार्ने पनि आफै, मारिएको संसद पुनर्जीवन दिएर ल्याएपछि हंगामा मच्चाउने पनि आफै’, मन्त्री खतिवडाले भन्नुभयो–‘त्यस्ता लाज नभएका ओलीलाई देश र पार्टी सुम्पनु नै गलत भयो ।’
ओलीको कार्यकालमा ७० करोडवालाहरु मन्त्री भएको भन्दै आफ्ना आसेपासेहरुलाई मन्त्री र राजकीय क्षेत्रहरुमा असबर दिने, आलोचना गर्ने र विधिपद्धतिको कुरा गर्नेहरुलाई सदैब डोमिनेट गर्ने ओलीको परिपाटीका कारण नेपालको कम्युनिष्ट आन्दोलन असफल हुन लागेपछि आफूहरुले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेर सहज अबतरण गरेको उहाँले बताउनुभयो ।

‘त्रिशुलीमा बस खस्दैछ भन्ने थाहा पाएर हामीले झ्याल ढोका र सिसा फुटाउँदै हाम फालेर बाँचेका हौँ’, मन्त्री खतिवडाले कम्युनिष्ट आन्दोलनलाई ओलीले त्रिशुलीमा झर्न लागेको बसको संज्ञा दिँदै भन्नुभयो–‘अब कम्युनिष्ट आन्दोलन, बामपन्थी एकता सबै चीज बाँच्ने निश्चित भएको छ ।’
कार्यक्रममा ओलीका एकल सोच, विचार र व्यक्तिगत अहमताले पार्टीलाई दुर्घटनातिर लगेपछि नयाँ पार्टी गठन गर्नुपरेको केन्द्रीय सदस्य मुनु सिग्देलले बताउनुभयो ।
जिल्ला अध्यक्ष श्रीधर पोखरेल, जिल्ला सचिवालय सदस्य भूमिनन्द अर्याल, कृष्णबहादुर चेपाङ, मनिला बिष्ट, रामकुमार एलन, नवप्रवेशी सूर्यमान प्रजा (चेपाङ) लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सोही अबसरमा नेकपा एमाले, राप्रपा, काँग्रेस र माओवादी परित्याग गरी ३० जनाभन्दा बढी मानिसहरु समाजवादी पार्टीमा समाहित भएको गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।