राक्सिराङ–पुस १२ गते । मकवानपुरको दुर्गम गाउँ राक्सिराङ गाउँपालिका ७ धिराङमा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ पुग्नु भएको छ ।

राज्यमन्त्री चेपाङलाई स्वागत गर्न बसेका गाउँलेसँग स्वागतपछि तस्वीर खिचाइँदै ।

राज्यमन्त्री नियुक्त भएको तेस्रो दिन जन्मघर पुग्नु भएका उहाँलाई स्थानीयबासिन्दा, आफन्तजनले भब्य स्वागत र सम्मान गरेका छन् ।
चितवनको भण्डारा हुँदै मलेखु पुग्ने सडक खण्ड भएर धिराङ पुग्ने सडकको परिकल्पनाकार समेत रहनु भएका राज्यमन्त्री चेपाङ सरकारी गाडी चढेरै गाउँ पुग्नु भएको हो ।

थाकलटार हुँदै चितवनको भूभाग भएर अघि बढ्ने उक्त सडकको ट्रयाक खुलेपछि हिउँदमा सजिलै सबारी सञ्चालन हुन सक्ने अबस्था छ । ‘चितवनको लोथर बजार भएर हामी ७/८ घण्टा लगाएर धिराङ पुग्थ्यौँ’, राज्यमन्त्री चेपाङले भन्नुभयो–‘आज सरकारी झण्डावाला गाडी लिएरै गाउँ जाने अबस्था बनाउन सक्षम भएका छौँ ।’

राज्यमन्त्री चेपाङ बाटोमा भेटिएका स्थानीयका कुरा सुन्दै ।

उहाँका अनुसार धिराङमा अब ४ शैयाको अस्पताल निर्माण कार्य पनि अघि बढ्नेछ । चेपाङ जातिको बाक्लो बसोबास रहेको धिराङ गरिबी र अभाव खेपिरहेको चेपाङ बस्ती हो ।

आफ्नै गाउँका साधारण मान्छे सन्तबहादुर चेपाङ राज्यमन्त्री बनेको खबर सुनेपछि आफूहरु उहाँलाई भेट्न निकै लालायित भएको स्थानीय रामबहादुर चेपाङले बताउनुभयो । उहाँले मन्त्रीलाई भेटेर खादा, माला लगाउँदै विभिन्न टोलहरुमा मन्त्री आएको खबर गर्दै स्वागत र सम्मानको व्यवस्था मिलाउनु भयो ।

‘चोकचोकमा खादा र माला लिएर गाउँले दाजुभाई दिदीबहिनीहरु बस्नु भएको रहेछ’, राज्यमन्त्री चेपाङले भन्नुभयो–‘अब गाउँमा थप भौतिक विकासको लागि उहाँहरुको ठूलो अपेक्षा छ र म उहाँहरुको अपेक्षा पूरा गर्न लागिपर्नेछु ।’

राज्यमन्त्री चेपाङको स्वागतका लागि टाँगिएको कागजी ब्यानर ।


धिराङ पुग्दा उहाँलाई बृद्धबृद्धा, बालबालिका, युवा, बयस्कले स्वागत र सम्मान गर्नु भएको थियो । सडक, शिक्षा र स्वास्थ्य सेवाको सुधारका लागि गाउँलेहरुले उहाँसँग माग गर्नु भएको थियो । उहाँसगै नेपाल चेपाङ संघका केन्द्रीय सदस्य खेमबहादुर चेपाङ, जिल्ला अध्यक्ष पूर्णबहादुर चेपाङ लगायतका मानिसहरु पनि धियाँल पुग्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here