राक्सिराङ–पुस ४ गते । राक्सिराङ गाउँपालिका ८ देविटारमा आधारभूत स्वास्थ्य सेवा केन्द्रले नयाँ भवनबाट सेवा सुरु गरेको छ ।
नयाँ भवनको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक समारोहका बीच उद्घाटन गर्नु भएको छ । मल्लले आफूहरु जनप्रतिनिधि भएर आइसकेपछि गाउँमा स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार हुँदै गएको र आगामी दिनमा बाँकी कामहरु पनि पूरा गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
राक्सिराङ्ग ८ का वडाध्यक्ष रामकृष्ण प्रजाको अध्यक्षतामा भएको देविटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, नेपाली कांग्रेस राक्सिराङ्ग गाउँपालिकाका उपसभापति मोहन नगरकोटी, देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रकी ईञ्चार्ज रजनी थापा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न एक रोपनी जग्गा दान गर्ने सिताराम स्याङ्तान र समयमै भवन निर्माण सम्पन्न गरेको भन्दै निर्माण कम्पनीका प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।
यसैबीच भवन उद्घाटन कार्यक्रमलाई भब्य नबनाइएको भन्दै नेपाल चेपाङ संघ राक्सिराङ गाउँपालिका ८ नं वडा इकाई समितिले असन्तुष्टि ब्यक्त गरेको छ । संघका अध्यक्ष महेशकुमार प्रजाले विज्ञप्ती प्रकाशन गरी भवन उद्घाटन कार्यक्रममा सरोकारवाला संघसंस्था तथा निकायहरु र राजनीतिक दलहरुलाई समेत जानकारी नगराएको भन्दै आपत्ति जनाउनु भएको छ ।
उहाँले विज्ञप्तीमा कतिपय सर्बसाधारण मानिसहरुले उक्त भवन के हो भन्नेबारे समेत थाहा नपाएको अबस्थामा उद्घाटन समारोहलाई भब्य रुपमा बनाएर आम सहभागितामा गर्न पाएको खण्डमा चेपाङ समुदायले पनि विकासको अनुभूति गर्न पाउने उल्लेख गर्नु भएको छ । सीमित मानिसहरुलाई मात्रै बोलाएर भवन उद्घाटन गरिएको उहाँले नेपाल चेपाङ संघ राक्सिराङ ८ को आपत्ति रहेको जनाउनु भएको छ ।