मनहरी–पुस ३ गते । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको नव निर्मित भवन उद्घाटन गरिएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले भवनको उद्घाटन गर्नु भएको हो ।

मन्त्री खतिवडाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बिनियोजन गर्नु भएको २० लाख रुपियाँ लगानीसहित अन्य निकाय र व्यवसायीहरुको सहयोगमा व्यवस्थित भवन निर्माण भएको हो ।

भवन उद्घाटन तथा संघको १० औँ र ११ औँ बार्षिक साधारण सभाको संयुक्त उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले पर्याप्त कोरोना खोपको व्यवस्था गरेको बताउनुभयो । उहाँले ७ करोड मात्रा खोपको जोहो भएको भन्दै विद्यालयमै पुगेर १२ बर्षभन्दा माथि र १७ बर्षभन्दा मुनिका बालबालिकालाई खोप लगाउने व्यवस्था सरकारले गरिरहेको बताउनुभयो । उहाँले आफ्नो नियमित काम अन्तर्गत उद्योग बाणिज्य संघको भवनमा बजेट बिनियोजन गरी निर्माण सम्पन्न भएको समेत बताउनुभयो ।

एक अर्काे प्रसंगमा उहाँले राजनीतिक घटनाक्रममा उतारचढाव जायज भएको भन्दै अन्यथा नलिन आफ्ना मतदाताहरुलाई अनुरोध गर्नुभयो । उहाँले बिगतमा ठूलो भनिएका पार्टीहरु साना भएको, फुटेको र ठूला ठानिएकाहरु सकिएका थुप्रै उदाहरणहरु नेपाली राजनीतिमा भएको भन्दै उहाँले सत्यको बाटोमा आफू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित भएको नाताले मैले तपाईहरुको शीर निहुराउने कुनै पनि काम गर्ने छैन ।’

साधारण सभामा मन्त्री खतिवडाले जग्गादाता रामचन्द्र बर्तौला र नारायण सुवेदीलाई सम्मान गर्नु भएको छ । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितीका सभापति नारायण सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा सविधान सभा सदस्य राजाराम स्याङ्तान, गोविन्दराम चेपाङ, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती विभिन्न राजनैतिक दलका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । त्यसअघि मन्त्री खतिवडाले मनहरी अस्पतालको अनुगमन गरी निर्माणाधीन भवन लगायतका बिषयहरुमा जानकारी हासिल गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here