मनहरी–मंसीर १९ गते । मनहरीस्थित नेपाल क्योकुसिन कराँते (इको) शाखाका खेलाडी रोहन प्रजा (चेपाङ) ले राष्ट्रिय स्पर्धामा रजत पदक प्राप्त गर्नु भएको छ ।

खुला उमेर समूहतर्फ स्पर्धामा सहभागी हुनु भएका रोहनले काभ्रेको बनेपा नगरपालिका ४ नालामा आयोजना भएको दोस्रो पुरुष तथा महिला राष्ट्रिय क्योकुशिन खुल्ला कराते प्रतियोगितामा रजत पदक हासिल गर्नु भएको हो ।

मनहरी गाउँपालिका ७ निबासी रोहन केही बर्षयता नेपाल क्योकुसिन कराँते डो (इको) मनहरीमा तालिमरत हुनुहुन्छ । ‘खुला तौल समूहमा रोहनले अझै मिहेनत गर्ने समय पाएको भए राष्ट्रिय च्याम्पियन हुने रहेछन्’, खेल प्रशिक्षक लवाङ दोर्जे लामाले भन्नुभयो–‘त्यति टाढा गएर रजत पदक हात पार्नु पनि मनहरीका लागि ठूलो कुरा हो ।’

उहाँले आर्थिक अभाव लगायतका कारण नियमित तालिम र खेलाडीहरुलाई प्रतियोगिताहरुमा भाग लिन सजिलै पठाउन अफ्ठ्यारो परिरहेको बताउनुभयो । ‘बनेपामा पनि खेलाडीहरु प्रतियोगिताका लागि आफ्नै खर्चमा पुगेका हुन्’, प्रशिक्षक लामाले भन्नुभयो–‘जसोतसो तालिम सञ्चालन गरिरहेका छौँ, आगामी दिनमा राम्रो हुँदै जाने आशा गरेको छु ।’

४५ जिल्लाका १८० जना खेलाडीले भाग लिएको राष्ट्रिय प्रतियोगितामा रजत पदक पाएका रोहनलाई पूर्व सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले प्रमाणपत्र तथा नगद पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

चार बर्षअघि स्थापना गरी सञ्चालनमा ल्याइएको नेपाल क्योकुसिन कराँते डो (इको) मनहरी शाखाले यसअघि पनि विभिन्न स्पर्धाहरुमा खेलाडीहरुलाई सहभागी गराउँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here