मनहरी–मंसीर १० गते । मनहरी गाउँपालिका ७ स्थित मनहरी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी गाउँपालिका विरुद्ध आन्दोलित भएका छन् ।

स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीहरुले ज्यानको जोखिम मोलेर कोभिड १९ को संक्रमणकालमा गरेको कामबापतको भत्ता उपलब्ध नगराएपछि अस्पतालमा कार्यरत २ जना डाक्टरसहित १९ जना स्वास्थ्यकर्मी र सफाई कर्मचारी आन्दोलित भएका हुन् ।

मेडिकल अधिकृत अन्जन जंग थापा र रिबेक सुनाम परिवारसहित स्वास्थ्यकर्मी र कर्मचारीहरु जोखिम भत्ता नदिएपछि चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

मंसीर ९ गते बसेको कर्मचारी बैठकले भत्ता नपाइन्जेल कालोपट्टि लगाएर काम गर्ने, मंसीर १२ गते गाउँपालिकामा धर्ना दिने, कोभिड खोप स्थगन गर्ने, नियमित रिपोर्टिङ स्थगित गर्ने, गाउँपालिकािले मंसीर ११, १२ र १३गते स्वास्थ्यकर्मीका लागि आयोजना गरेको तालिम बहिस्कार गर्ने लगायतका निर्णयहरु गरेको हो ।

निर्णयबारे आन्दोलित कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मालाई पत्र लेखी जानकारी गराएका छन् । जानकारीको बोद्धार्थ, अध्यक्ष, उपाध्यक्ष, ७ नं वडा कार्यालय, इलाका प्रहरी कार्यालय र स्थानीय सञ्चार माध्यमको रुपमा मनहरी एफएमलाई समेत दिइएको छ ।

समयमै समस्याको हल नगरे थप आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरिने र अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरिने प्रमुख प्रशासकीय अधिकृतलाई लेखिएको पत्रमा उल्लेख छ ।

पत्रमा २०७७ साल साउन महिनादेखि नै जोखिम भत्ता नपाएको उल्लेख छ । पटकक पटकको बैठक र छलफलमा आश्वासन मात्रै दिएर टार्ने काम भएको र स्वास्थ्यकर्मीको भावनमा ठेस पुगेको स्वास्थ्यकर्मीहरुले आरोप लगाएका छन् । आन्दोलनबाट पर्ने जाने असुविधाप्रति माफी माग्दै आन्दोलनकारीहरुले यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मनहरी गाउँपालिकाले नै लिनुपर्ने बताएका छन् ।

मनहरीको सबै वडामा स्वास्थ्य संस्थाहरु अस्तित्वमा रहेको छ । तर, स्वास्थ्य संस्थाहरुको उचित व्यवस्थापन र प्रभावकारी समन्वय हुन नसक्दा स्वास्थ्य इकाइहरु अब्यवस्थित बन्दै गइरहेको छ भने नियुक्त भएका स्वास्थ्य कर्मचारीहरुले सरकारी स्केल बमोजिम तलब सुविधा नपाएको गुनासा गर्ने गरेका छन् ।

यसअघि स्वास्थ्य शाखामार्फत बितरण गर्नुपर्ने पौष्टिक पिठो बितरण नगरी म्याद गुजारेर खेर फालिएको घटनाले पनि स्वास्थ्य शाखाको आलोचना भएको छ । त्यसबारे जिल्ला प्रशासन कार्यालयले अनुसन्धान जारी राखेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here