नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट ।

मनहरी–मङ्सिर ०९ गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बिहिबारबाट शुरु भएको छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अभियान संचालन हुने भएको हो । महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसदेखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मको १६ दिनलाई १६ दिवसीय अभियानको रुपमा विश्वभर मनाउने गरिएको छ ।

अभियानका क्रममा महिला एवं लैंगिक हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रमहरू हुने जनाईएको छ । मनहरी गाउँपालिकमा पहिलो दिन दिप प्रज्वलन गरि महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ ।

मनहरी गाउँपालिकामा पनि दिवसको पहिलो दिन दिप प्रज्वलन कार्यक्रम गरिएको छ । मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्टको सक्रियतामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो । महिला हिंसाको स्वरुप परिवर्तन भएको तर अन्त्य भने नभएको उहाँले बताउनुभएको छ । महिला हिंसाको स्वरुप परिवर्तन भएर अझै पनि महिला हिंसाहरु भइरहको उहाँले बताउनुभएको हो ।

मनहरी लाइभसंग कुरा गर्दै उपाध्यक्ष विष्टले आफु जनप्रनिधि हुँदा पनि महिला हिंसाको शिकार भएको तितो वेदना सुनाउनुभयो । महिला भएकै कारणले गर्दा महिलासंग सम्बन्धित र अन्य राम्रा योजनाहरु पेश गर्दैगर्दा कार्यपालिका तथा गाउँसभाबाट पारित नगरेको
बताउनुभयो ।

महिला हिंसा न्युनिकरणका लागि कानुन मात्र बलियो भएर नपुग्ने बताउनुभयो । जसका लागि उच्च ओहदामा रहने पुरुषहरुले पनि साथ दिनुपर्ने बताउनुभयो ।

कानुन निर्माण गर्दैगर्दा कार्यान्वयनको निकाय लचिलो भएमा यसले सार नपाउने उहाँले बताउनुभयो । महिला हिँसा न्युनिकरणका लागि दिवसको दिनमा कार्यक्रम गरेर मात्र अन्त्य नहुने बताउनुभयो । उहाँले महिला हिंसा न्युनिकरणका लागि प्रत्येक दिनलाई नै महिला हिंसा विरुद्धको दिवस मनाउनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here