मनहरी–कात्तिक ३ गते । भारतबाट विभिन्न कम्पनीहरुमा ढुवानी हुने खाना पकाउने ग्याँस बीचबाटोमा नै चोरी हुने गरेको पाइएको छ ।

मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित एक पसलमा ग्याँस बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिन्डरमा भर्ने गरेको घटना सार्बजनिक भएको हो ।

यसरी ग्याँस चोरी गरेर बेच्ने कार्यमा संलग्न स्थानीय ब्यापारी ४३ बर्षीय हरि कार्की, दुईवटा बुलेटका चालक र बुलेटलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको छ ।

प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले स्थानीयबासिन्दाको गुनासो बमोजिम ‘अपरेसन’ गरेको हो । मंगलबार राति कार्कीको चियापसलमा पुगेको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरी थप जानकारी हासिल गरेपछि दुईवटा बुलेट, बुलेटका चालक र १८ वटा खाली तथा १३ वटा भरिएका विभिन्न कम्पनीका सिलिन्डरहरु समेत नियन्त्रणमा लिन सफल भएको हो । नियन्त्रणमा लिइएका बुलेटहरुमा एनएल शुन्य एक एन शून्य १३१ र युपी ७० बीटी ९९९६ र चालकहरु चुनुकुमार र विपिन कुमार रहेका छन् ।

प्रहरीले पाएको प्रारम्भिक जानकारी अनुसार भारतीय बुलेट चालकहरुले कार्कीको पसलमा नियमित रुपमा ग्याँस बिक्री गर्नेगरेका थिए । उनीहरुले प्रति सिलिन्डर १ हजार रुपियाँमा कार्कीलाई बेच्ने र कार्कीले १३ सय रुपियाँमा उपभोक्तालाई बिक्री गर्ने गरेका थिए ।

सिलिन्डर भर्नका फलामको पातामा पाइप जोडिएको घरेलु उपकरण निर्माण गरी प्रयोग हुने गरेको पाइएको छ । ‘असुरक्षित र जोखिमपूर्ण तरिकाले बुलेटको खतरा लेखिएको बक्स खोलेर घरेलु उपकरण टाँसेर ग्याँस चोरी हुने गरेको छ’, प्रहरी निरीक्षक थापाले भन्नुभयो–‘यी दुईमात्र होइन, अन्य ग्याँस बोक्ने बुलेटको गिरोह नै यस्तो कार्यमा संलग्न भएको जानकारी पाइएको छ ।’

उहाँका अनुसार पोखराको शक्ति ग्याँस उद्योग र धादिङको क्याप्सन ग्याँस उद्योगमा ती दुई बुलेटहरुले ग्याँस लैजाँदै थिए । पक्राउ परेकाहरुलाई चोरी सम्बन्धी कसुरमा मुद्दा चलाउने गरी अदालत पेस गरी म्याद थप गरिएको थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here