राक्सिराङ–असोज १३ गते । राक्सिराङ गाउँपालिका ८ देविटारस्थित श्री आधारभूत विद्यालयमा अध्ययन गर्न आएकी छात्राको खोलाले ज्यान लिएको घटनाप्रति नेकपा माओवादी केन्द्रले चासो देखाएको छ ।
माओवादीका राक्सिराङ गाउँपालिका इन्चार्ज बनस्तम थिङले १२ बर्षीया बालिका मनिषा थिङको खोलाले बगाएर ज्यान गएको घटनामा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको लापारबाही रहेको भन्दै छानबिनको माग गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ती प्रकाशन गरी भीषण बर्षा हुँदाहुँदै र विद्यालयबाट विद्यार्थीहरु छुट्ने समय नहुँदै दिउँसै विद्यार्थीहरुलाई के कति कारणले छुट्टि दियो ? भनेर प्रश्न गर्नु भएको छ । ‘विद्यालयको कुन दफा वा नियमले विद्यार्थीलाई बेसमय छुट्टि दिइयो ?, विद्यालयमा शिक्षकहरु उपस्थित थिए वा थिएनन् ?’, बनस्तमले भन्नु भएको छ–‘सम्बन्धित निकायले यसको सुक्ष्म छानबिन गरोस् ।’
मंगलबार भीषण पानी परिरहेका बेला विद्यालयका छात्रछात्राहरु घर फर्कन लाग्दा सामूहिक रुपमा जिर्खी खोला तरेकामध्ये थिङलाई खोलाले बगाएको हो । खोलाले बगाएकामध्ये अरु विद्यार्थी सबै सकुशल फिर्ता भएपनि थिङको शव विद्यालयभन्दा ७ सय मिटर तल फेला परेको थियो ।