मनहरी–असोज ८ गते । नेपाली काँग्रेस मनहरी गाउँपालिका इकाई समितिको असोज ९ गते शनिबार हुने गाउँ अधिबेसनमा निर्वाचनको सम्भावना बढेको छ । यद्यपि सर्बसम्मत नेतृत्वका लागि नेताहरुको प्रयास जारी छ ।

काँग्रेस नेताहरु स्पष्ट रुपमा दुई गुटमा बाँडिएका छन् । शेरबहादुर देउवा पक्षधर गैर देउवा पक्षधरबीच निर्वाचन हुने पक्कापक्की छ । त्यसमाथि मनहरी गाउँपालिका नेतृत्वको लागि चन्द्रबहादुर पौडेल एकल हिसाबले अघि बढ्नु भएको छ । यसो हुँदा त्रिपक्षीय चुनाव हुने स्थिति देखिन्छ ।
सभापतिका दाबी देउबा पक्षधर मानिएका प्रकाश बर्ताैलाले गर्नु भएको छ ।

जिल्लामा सभापति इन्द्रबहादुर बानियाँ निकट मानिएका बर्ताैला पछिल्ला बर्ष नेपाली काँग्रेसमा सक्रियताका साथ लागिरहेका युवा हुनुहुन्छ । पारिवारिक पृष्ठभूमि फरक राजनीतिक धार भएपनि बर्ताैलाले थोरै समयमै नेतृत्वमा दाबी गर्ने हैसियत बनाउनु भएको कुरा काँग्रेसबृत्तमा चर्चा छ ।

यता उनलाई टक्कर दिन गैर देउवा पक्षीय समूहले विभिन्न बिकल्पहरु अघि सारेका छन् । यसअघि चर्चामा आएका र हालका सभापति नारायण उप्रेतीसहित रामचन्द्र कालाखेती, शंकर न्यौपाने लगायतको चर्चा रहे पनि अन्तिममा आएर निर्वाचनमै जानुपर्ने अबस्था भए न्यौपानेको उम्मेदवारी लगभग पक्का भएको काँग्रेस स्रोतले बताएको छ ।

तर, न्यौपानेले भने सर्बसम्मत सभापति चयनका लागि आफू अघि बढेको र सहमति कार्यान्वयन गरेर मनहरी ८ का पुराना काँग्रेस नेता मानबहादुर मुक्तानलाई सभापति बनाउन लागि परेको बताउनुभयो । मनहरी लाइभ डटकमसँगको कुराकानीमा उहाँले भन्नुभयो–‘म ८ नं वडा अधिबेसनमा भएको सहमति कार्यान्वयनको पक्षमा छु, मानबहादुर जीलाई सभापति बनाउनुपर्छ भनेर पहल गरिरहेको छु’, उहाँले भन्नुभयो । सहमति नभए समूहमा अग्रजहरुको निर्देशन र सल्लाह बमोजिम अघि बढ्ने उहाँको भनाई छ ।

यता सभापतिका अर्का प्रत्यासी बर्ताैलाले पनि सहमतिको अधिकतम प्रयास भइरहेको बताउनुभयो । उहाँले सहमति नभएपनि आफ्नो समूहब (संस्थापन) बाट उम्मेदवारी निश्चित रहेको बताउनुभयो । ‘म सभापतिको उम्मेदवार हुँ, सहमतिको प्रयास भइरहेको छ, सकेसम्म सर्बसम्मत गरौँ भन्नेमा छु ।’, उहाँले भन्नुभयो ।

यता सभापतिका अर्का उम्मेदवार चन्द्रबहादुर पौडेल एकल ढंगले अघि बढ्नु भएको छ । उहाँले आफ्नो रेल अघि बढेको र गन्तब्यमा नपुगुन्जेल नरोकिने बताउनुभयो । उहाँ पनि देउवा इतर पक्षधर हुनुहुन्छ ।

१६५ मतदाता रहेको मनहरी गाउँ इकाइ सभापतिमा गैरसंस्थापन पक्षले मानबहादुर मुक्तानलाई स्वीकार्न देउवापक्षलाई दबाब बढाएको देखिन्छ भने देउवा पक्ष भने आफैलाई निर्विरोध सभापति बनाउन लबिङ गरिरहेको देखिन्छ । यसअघि मनहरी गाउँपालिका वडा नं ८ को बुथ प्रतिनिधि छनौट तथा वडा अधिबेसनमा सर्बसम्मत बुथ प्रतिनिधि चयनका बेला नारायण उप्रेती, प्रकाश बर्ताैला, रामचन्द्र कालाखेती कोही पनि गाउँ सभापतिमा उम्मेदवार नबन्ने र मानबहादुर मुक्तानलाई सभापति बनाउन सबैले पहल गर्ने सर्तमा सर्बसम्मत प्रतिनिधिहरु चुनिएको स्रोत बताउँछ । अहिले गैरसंस्थापन पक्षले त्यही सहमतिको कार्यान्वयनको माग अघि बढाएर मुक्तानलाई सभापति बनाउन खोजेको छ भने त्यो सहमति कार्यान्वयन हुन सम्भावना नरहेको संस्थापन पक्षको भनाई छ ।

असोज ९ गते मनहरी ९ स्थित रजैया आश्रममा हुने अधिबेसनमा आफूले सभापतिको दाबी नगरेको बर्तमान सभापति नारायण उप्रेतीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here