मनहरी–असोज गते । पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा आएर नेपाली सेनाले ट्रयाक्टरमाथि गर्ने धरपकडका कारण मनहरी क्षेत्रका ट्रयाक्टर व्यवसायी धरासायी भएको गुनासो गरिएको छ ।

निकुन्ज क्षेत्रमा रहनुपर्ने सेना मध्यवर्ती क्षेत्रको मनहरी बजारसम्मै आएर ट्रयाक्टर व्यवसायीमाथि धरपकड गर्ने, पक्रने, कुट्ने, ट्रयाक्टर व्यवसायीहरुलाई अपमान गर्ने र ट्रयाक्टरहरु समेत पक्रेर लैजाने गरेका घटनाका कारण आफूहरु आजित भएको ट्रयाक्टर व्यवसायी समिति मनहरी ७ का अध्यक्ष बाबु स्याङ्तान बताउनुहुन्छ ।

स्याङ्तानसहित यस क्षेत्रका सयौँ ट्रयाक्टर व्यवसायीको प्रश्न वा गुनासो पर्सा राष्ट्रिय निकुन्ज सुरक्षार्थ खटिएका नेपाली सेनासहितका सुरक्षाकर्मीहरुसँग छ । पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र पूर्वपश्चिम राजमार्गको सडकको बीचमा रहेको धर्साेभन्दा दक्षिणतर्फको क्षेत्र हो भने संरक्षित क्षेत्र भनेको राप्तीपारि रहेको जंगल क्षेत्र हो । निकुन्जका वन्यजन्तु चोरी शिकारी गर्ने, प्राकृतिक स्रोत र सम्पदाहरुको संरक्षण गर्ने जिम्मा पाएका सुरक्षाकर्मीले निकुन्ज बाहिर शसस्त्र रुपमा आई ट्रयाक्टर व्यवसायीहरुमाथि धरपकड गरेकाले बिस्तारै समुदाय र निकुन्जबीच द्वन्द्व बढ्दै गएको छ ।

व्यवसायीहरुका अनुसार सुरक्षाकर्मीले राप्ती, मनहरी र लोथर खोला किनारबाट उत्पादन हुने ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य बस्तुको ओसार पसारका क्रममा सुरक्षाकर्मीका तर्फबाट निकै तनाव भोग्नु परेको छ । कतिपय ट्रयाक्टरका ब्याट्री झिकेर लगिदिने, कतिपय अबस्थामा ट्रयाक्टरका टायरको हावा खोलिदिने, साँबेल र ज्यावलहरु लगिदिने लगायतका क्रियाकलापहरु भइरहेका छन् । बगरबाट पछ्याउँदै आएर मध्यवर्ती क्षेत्रभित्रका बस्तीहरुमा समेत धरपकड गर्ने, स्थानीय समुदायसँग विवाद गर्ने लगायतका कामहरु बिगतमा भएको अध्यक्ष स्याङ्तानले बताउनुभयो ।

दुई दिनअघि मात्र मनहरी ९ ज्यामिरेमा सुरक्षाकर्मीले धरपकड गरी दर्जनौँ ट्रयाक्टर भगाएका छन् भने केही ट्रयाक्टरहरु सेनाले पक्रेर लगेको अध्यक्ष स्याङ्तानले बताउनुभयो । उहाँका अनुसार सोही क्रममा दर्जनौ ट्रयाक्टर चालकहरु रातारात लुकेर ज्यान जोगाउनुपरेको र ४ जनाले सेनाको हातको कुटाई खाएर घाइते भएको अबस्था छ ।

यो अबस्थालाई सहजीकरण र न्यूनिकरण गर्न मनहरी गाउँपालिका, जनप्रतिनिधिहरु, निकुन्जका पदाधिकारीहरु र व्यवसायीहरु बसेर निचोड निकाल्नु पर्ने उहाँको भनाई छ । मुख्यतः नेपाली सेना मध्यवर्ती क्षेत्रमा नआइदिए हुन्थ्यो भन्ने अपेक्षा आम ट्रयाक्टर व्यवसायीको रहेको उहाँले बताउनुभयो । दुई बर्षयता समुदायसम्मै निकुन्जका सुरक्षाकर्मी आएर धरपकड गरिरहेको घटनाले व्यवसायी र समुदायसँग द्वन्द्व बढाइरहेको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here