सहजीकरणका लागि गाउँपालिकामा आग्रह गर्दै ट्रयाक्टर व्यवसायी ।

मनहरी–असोज ८ गते । मनहरी गाउँपालिका वडा नं ९ स्थित राप्ती खोला किनारबाट लखेटी लखेटी सुरक्षाकर्मीले ट्रयाक्टर चालक र मजदुरमाथि कुटपिट गरेपछि यस क्षेत्रका ट्रयाक्टर व्यवसायी आन्दोलित भएका छन् ।

आन्दोलित व्यवसायीले मनहरी गाउँपालिकामा न्यायको माग गर्दै पुगे पनि अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मालाई फेला पार्न सकेनन् । शुक्रबार दिउँसो ट्रयाक्टरसहित गएका व्यवसायीले पटक पटक गिटी ढुंगा व्यवसायमा संलग्न ट्रयाक्टर व्यवसायीहरुको सुरक्षित ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै गाउँपालिका पुगेका थिए । तर, जिम्मेवार प्रतिनिधिहरु नभेटिएपछि कार्यालयका कर्मचारीहरुलाई बाहिर निकालेर कार्यालय बन्द गर्न लगाएका थिए ।

एकदिन अघि निकुन्जका सुरक्षाकर्मीले धरपकड गरी मनहरी ५ का कृष्ण राई, मनहरी ९ का इमान गोले, सोही स्थानका राजकुमार राउत र दोर्जे लामालाई कुटपिट गरेका थिए । कुटपिटबाट ट्रयाक्टर चालकर मजदुरहरु घाइते समेत भएको व्यवसायीहरुले बताएका छन् ।

मनहरी गाउँपालिकामा प्रतिनिधिहरु नभेटेपछि झन् आक्रोशित भएका व्यवसायी पर्सा राष्ट्रिय निकुन्जको मनहरी ३ लामिटार सेक्टर कार्यालय पुगेका थिए । तर, त्यहाँ पनि सुरक्षाकर्मीहरु मात्रै तैनाथ थिए । कार्यालयका कर्मचारीहरु सबै ट्रयाक्टर व्यवसायीसँग बढेको विवादबारे जानकारी गराउन आधाभारस्थित निकुन्ज कार्यालयमा गएकाले व्यवसायीहरुले विरोध प्रदर्शन मात्रै गर्न पाए ।

विरोध प्रदर्शन चर्कने र थप हुलदंगा हुने देखिएपछि हेटौँडाबाट फर्कनु भएकी मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, ९ नं वडाध्यक्ष साधुराम अधिकारीसहितको टोली सेक्टर कार्यालयमा पुगी आपसी सहजीकरण गर्नुभएको थियो । आइतबार फेरि छलफल गर्नेगरी व्यवसायीहरुलाई भनिएको र यो बीचमा निकुन्ज, गाउँपालिका, मध्यवर्ती व्यवस्थापन समिति लगायतका प्रतिनिधिहरुसँग बसी समस्या समाधानको पहल गरिने बताइएको छ ।

ट्रयाक्टर व्यवसायीहरुलाई निकुन्जका सुरक्षाकर्मीले मध्यवर्ती क्षेत्रमा आएर अनावश्यक दुःख दिने, धरपकड गर्ने, ब्याट्री झिकेर लैजाने, टायरका हावा खोलिदिने लगायतका व्यवहार गर्दै आइरहेका छन् । कोभिड १९ का कारण घोषणा भएको लक डाउन तथा गाउँपालिकाले गत आर्थिक बर्षमा ग्रेबल उत्खनन् नगरिदिएकाले यस क्षेत्रका ट्रयाक्टर व्यवसायीहरु आर्थिक तनावमा छन् ।

मासिक बैँक किस्ता समेत तिर्न नसकेको अबस्थामा निकुन्जका तर्फबाट भइरहेको अनावश्यक हस्तक्षेपले व्यवसायीहरु झन् आक्रोशित बन्दै गइरहेको ट्रयाक्टर व्यवसायी समिति मनहरी ७ का अध्यक्ष बाबु स्याङ्तानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here