मनहरी–भदौ २२ गते । मनहरी गाउँपालिका वडा नं ७ निबासी नेपाली काँग्रेसका नेता चन्द्रबहादुर पौडेलले गाउँपालिका इकाई समितिको सभापति पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।
बुथ प्रतिनिधिमा चुनिएसँगै पौडेलले भदौ २७ गते हुने काँग्रेस गाउँपालिका इकाई समितिको अधिवेसनमा सभापति पदमा निर्बाचनमा जाने तयारी गर्नु भएको हो ।
मनहरी लाइभ डटकमसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता प्राप्त गरेको ३० बर्षपछि आफूले काँग्रेसको नेतृत्व गर्न चाहेको बताउनुभयो । ‘२०४६ सालदेखि काँग्रेसमा आबद्ध भई २०४८ सालमा क्रियाशील सदस्यता पाएदेखि निरन्तर पार्टीकै काममा छु’, उहाँले भन्नुभयो–‘यसपटक मनहरी गाउँपालिकामा काँग्रेसको नेतृत्व गर्न चाहन्छु ।’
उहाँ स्थानीय मनकामना सामुदायिक वन उपभोक्ता समूह मनहरी ७ को समेत २०७१ सालदेखि निरन्तर अध्यक्षको रुपमा काम गरिरहनु भएको छ । आफूले सभापति पदमा रही काम गर्न पाए सिंगो मनहरी गाउँपालिका, ९ वटै वडामा समेत काँग्रेसलाई आगामी निर्बाचनमा जिताउने गरी काम गर्ने प्रतिबद्धता उहाँले ब्यक्त गर्नु भएको छ ।
तीन कार्यकाल वडा सभापतिको रुपमा काम गरेर पार्टी निर्माणमा भूमिका निभाइसकेको भन्दै पौडेलले पार्टीभित्रको गुट उपगुटलाई अन्त्य गरी आफू अघि बढ्न चाहेको बताउनुभयो ।
‘हामीजस्ता इमान्दार कार्यकर्ताहरुले अहिले काँग्रेसमा नेतृत्व गर्ने बेला आएको छ’, पौडेलले भन्नुभयो–‘जालझेल, तिकडम, गुट उपगुट गरेर पार्टी ठूलो हुने होइन । पार्टी बनाउन निरन्तर पार्टीकै काममा लाग्न सक्ने मान्छे आम कार्यकर्ताले चुन्न सक्नुपर्छ ।’
उहाँले मनहरी गाउँपालिकाका ९ वटै वडाका सभापतिहरुलाई शुभकामना समेत दिनु भएको छ । काँग्रेसले आन्तरिक लोकतन्त्रको अत्यधिक उपयोग गरेको भन्दै निर्वाचत विधिलाई स्वस्छ, स्वस्थ बनाएर कुशल नेतृत्व चयन गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।