मनहरी–भदौ १९ गते । मकवानपुरमा लामो समयदेखि महिला शसक्तिकरण र जीविकोपार्जनको क्षेत्रमा समेत काम गर्दै आइरहेको नारी सीप सृजना केन्द्र हेटौँडाले मकवानपुरको बागमती र राक्सिराङ गाउँपालिकामा आय आर्जन बृद्धि गर्न कृषकहरुका लागि थोपा सिंचाईसहितको टनेल र बाख्रा बितरण गरेको छ ।
बागमती र राक्सिराङ गाउँपालिकाको वडा नं १ देखि ५ सम्मका ६२ जना बाख्रापालक किसानका लागि बीउको रुपमा बाख्रा बितरण गरिएको नारी सीप सृजना केन्द्रले जनाएको छ । एडब्लुओ इन्टरनेशनलको आर्थिक सहयोगमा सञ्चालन भएको मकवानपुरमा मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमत प्रबद्र्धन परियोजना अन्तर्गत दुबै गाउँपालिकामा यसअघि व्यवसायिक बाख्रापालन तालिम लिएका किसानहरुका लागि बाख्रा बितरण गरिएको संस्थाकी अध्यक्ष सरस्वती बर्ताैलाले बताउनुभयो ।
यसैगरी व्यवसायिकत तरकारी खेती बिस्तारका लागि दुबै गाउँपालिकाका वडा नं १ देखि ५ सम्मका ९६ जनालाई टनेल निर्माणका लागि आवश्यक सामग्रीहरु बितरण गरिएको छ । संस्थाको तर्फबाट व्यवसायिक तरकारी खेती तालिम प्राप्त गरेका किसानहरुका लागि थोपा सिंचाई प्रणालीमा टनेल खेतीका लागि पोलिथिन, पोलिथिन ट्यांकी, ट्यांकी स्ट्याण्ड, टनेल प्लाष्टिक र पाइप बितरण गरिएको हो ।
बाख्रा तथा टनेलका सामग्री बितरण कार्यक्रममा बागमती गाउँपालका अध्यक्ष सर्केश घलानसहित कर्मचारीहरु र नारी सीप सृजना केन्द्रका कर्मचारीहरु एबम् वडाहरुमा गठित सामुदायिक छलफल केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मानव बेचबिखन तथा ओसार पसार रोकथामका लागि दुबै गाउँपालिकाका वडा नं १ देखि ५ का बासिन्दालाई सचेत पार्नका लागि संस्थाले परियोजना सञ्चालन गर्दै आएको छ । जस अनुसार स्वरोजगार हुनका लागि विभिन्न आयमुलक व्यवसायिक तालिम र भौतिक सामग्री सहयोग गरिएको केन्द्रकी अध्यक्ष बर्ताैलाले बताउनुभयो ।