नेपाली काँग्रेस मनहरी गाउँपालिका इकाई समितिका सभापति नारायण उप्रेती मनहरी गाउँपालिका वडा नं ८ सिमपानी निबासी हुनुहुन्छ । उहाँ राजनीतिकर्मीभन्दा बढी समाजसेवी र सहयोगीको भूमिकामा रहनु भएको छ । २०७२ साल माघ १५ गते भएको तत्कालीन नेपाली काँग्रेस मनहरी गाविस इकाई सभापतिमा निर्बाचित हुनु भएपछि उहाँ संघीयता कार्यान्वयनको क्रममा हाँडीखोला र मनहरी गाविसलाई जोडेर बनेको मनहरी गाउँपालिकाकै सभापतिमा परिणत हुनु भएको थियो । २०७४ साल बैशाख ३१ गते भएको स्थानीय तहको निर्बाचनमा मनहरीमा दोस्रो स्थान हासिल गरेको काँग्रेस यतिबेला संघीय संरचना बमोजिम पालिका तहको समिति बनाउने गरी अधिबेसनमा जुटेको छ । यसै सन्दर्भमा गाउँपालिका सभापति उप्रेतीसँग मनहरी लाइभ डटकमका लागि शिवकुमार काशीले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

–तपाईले नेतृत्व गर्नुअघि र नेतृत्व गरेर पाँच बर्ष पूरा गरिरहँदा मनहरीमा काँग्रेसको अबस्था कस्तो छ ?
काँग्रेसको अबस्थामा धेरै सुधार भएको छ । केन्द्रीय रुपमा पार्टीका भेला, प्रशिक्षणहरु नचल्दा पनि मनहरी गाउँपालिकामा काँग्रेसमा आकर्षण बढेको छ । युवापुस्ता काँग्रेसमा जोडिएका छन् । पहिला र अहिलेमा काँग्रेस निकै सुध्रिएर आएको छ ।
–संख्यामा भनिदिनुस् न काँग्रेस के कसरी बढ्यो ?
संख्यामा भन्नुपर्दा म सभापति हुने बेलामा मनहरी गाविसतर्फ जम्मा १२१ जना क्रियाशील सदस्य थिए । हाँडीखोलातर्फ समेत गरेर हामी जम्मा ३०८ जना क्रियाशील सदस्य थियौँ । अब आजको दिनमा हिसाब गर्दा मनहरी गाउँपालिकामा क्रियाशील सदस्यको संख्या ८३२ जना पुगेको छ । यसका अलावा तरुण दल, नेविसंघ, महिला संघ, खेलकुद संघ, आदिबासी जनजाति संघ लगायत संघ र संगठनहरुमा पनि हामीहरु पर्याप्त मात्रामा छौँ ।

–काँग्रेसमा कसरी मान्छे बढ्दा रहेछन् ?
एक त जनताले आशा गरेका कम्युनिष्ट पार्टीले गरेका काम कारबाहीहरु, देखाएका सपनाहरु सबै खेर गएपछि स्वतः मान्छेहरुले काँगेस ठीक भन्न थाले । अर्काे कुरा कम्युनिष्टमा भन्दा सहयोगी भावना हामी कहाँ छ । हामी कसैलाई आपत पर्दा तुरुन्तै पुुग्छौँ । सकेको आर्थिक सहयोग समेत गर्दछौँ । अन्यायमा परेकाहरुका पक्षमा हामी पहलकदमी तत्कालै लिन्छौँ । मान्छेहरुले पार्टीमा आशा गर्ने भनेकै यस्तै कुरा त हो नि ।
–उसो भए तपाई निकै उत्साहित हुनुहुन्छ । अब मनहरी गाउँपालिकामा जीत हासिल गर्न सकिन्छ ?
अबको मनहरी गाउँपालिका काँग्रेसले जित्छ । अघिल्लो पटक पनि थोरै मात्र मत नपुगेको हो । हामी यसपटक जित्छौँ । र, जनताको काम गर्ने जिम्मा हामी लिन्छौँ ।

–नेकपा एमाले नेतृत्वको मनहरी गाउँपालिकाले चाहिँ काँग्रेससँग यो अबधिमा के कति सहकार्य ग¥यो ?
गरेन । कुनै वास्ता ब्यास्ता गरेन । बजेट निर्माण, योजनाहरु सञ्चालनमा एकलौटी ढंगले ग¥यो । जहाँ जहाँ अफ्ठ्यारो छ, त्यहाँ चाहिँ हामी राजनीतिक दलहरुलाई अघि सार्ने काम भयो । विकास निर्माणका योजनाहरुको समिक्षा, अनुगमन कुनै पनि काममा हामीलाई अहिलेको एमाले नेतृत्वको मनहरी गाउँपालिकाले समेटेको छैन ।

–अफ्ठ्यारो काममा भन्नाले कस्तो कस्तो काममा राजनीतिक दलहरुलाई अघि सा¥यो गाउँपालिकाले ?
जस्तो कि, बाढीपहिरो र असिना आएको ठाउँमा अनुगमन जानुपर्दा गाउँपालिकालाई हामी चाहिन्छ । भूमि अतिक्रमण र भूमि सम्बन्धी समस्या पर्दा हाम्रो आवश्यकता हुन्छ । तैपनि हामी उभिदिन्छौँ, तर काम एकलौटी हुन्छ । गतबर्ष मनहरी ५ मा असिनापानीले गाउँहरु बर्बाद पारेपछि हामीहरुले अनुगमन ग¥यौँ । अनुगमन गरेपछि मात्रै जस्तापाता बितरण गर्ने समितिको सिफारिस अनुसार भन्यौँ । तर, समितिको सिफारिसबेगर आफ्ना कार्यकर्तालाई धमाधम गाउँपालिकाबाट एकलौटी रुपमा जस्तापाता बाँडियो । हामीले त्यसको बिरोध पनि गरेका थियौँ ।

–भनेपछि एमाले नेतृत्वको मनहरी गाउँपालिकाको कामबाट तपाई सन्तुष्ट हुनुहुन्न ?
म ब्यक्ति भन्दा पनि काँग्रेस सन्तुष्ट छैन । गर्नुपर्ने थुप्रै कामहरु थिए । तर उहाँहरुले गर्न सक्नु भएन । जस्तै मनहरी ८ बेलुवामा बसपार्क बनाउने कुरा, मेडिकल कलेज स्थापना गर्ने कुरा, संक्रामक रोग नियन्त्रण अस्पताल बनाउने कुरा, औद्योगिक क्षेत्र बनाउने कुरा, गोरखा सैनिक स्मृति पार्क बनाउने कुरा, बगरको अतिक्रमण हटाएर ग्रीन बेल्ट र कृषि क्षेत्र निर्माण गर्ने कुरा खोई ? कता हराए यी कुरा ? हामीले नेतृत्व गरेको भए यी कुराहरु गथ्र्याैजस्तो लाग्छ ।

–तपाई काँग्रेसले चुनाव जित्छ भन्नुहुन्छ, काँग्रेसभित्र थामिनसक्नुको लडाई र बिग्रह छ, कसरी सम्भव छ जीत ?
जुनसुकै पार्टीमा पनि बिग्रह हुन्छ । विवाद झगडा हुन्छन् । तर, टिकट पाइसकेपछि ती विवाद सकिन्छ र एकढिक्का भएर टिक पाएको नेतालाई जिताउन लागि परिन्छ । त्यसो हुँदा काँग्रेसले जताततै जित्छ । टिकट पाइसकेपछि पनि अनेक तिकडम, असहयोग गरेर पार्टीलाई हरायो भने त्यस्तालाई कडाईका साथ कारबाही गर्नुपर्छ र हुन्छ ।

–अब फेरि तपाई सभापतिमा दोहोरिने हो ?
यो अहिले नै नभनौँ । हाम्रो विधानले पहिला बुथ प्रतिनिधि भएर जानुपर्ने व्यवस्था गरेको छ । त्यसैले म बुथको चुनावमा वडाबाटै उम्मेदवार हुनेछु । सकेसम्म मिलाएर सर्बसम्मत गर्नका लागि प्रयत्न हुनेछ । बुथबाट निर्बाचित भएपछि साथीहरुको सल्लाह बमोजिम गाउँपालिका, क्षेत्र, जिल्ला अथवा कता कता हुन्छ साथीहरुकै सल्लाह बमोजिम अघि बढ्छु ।

–तपाईको सामाजिक काम पनि लोभलाग्दो नै छ, जस्तो कि सामुदायिक वनको चुनावमा ३ पटक जितिसक्नु भयो, यो कसरी सम्भव भयो ?
काँग्रेसको मात्रै मत आएर मैले सामुदायिक वनमा जितेको होइन । सबैसामु नम्र भएर प्रस्तुत हुने, आफ्ना कुरा राख्ने, जायज कुरालाई जायज भन्ने र व्यक्तिगत स्वार्थ नराखीकन काम गर्दा अरु पार्टीले पनि साथ र सहयोग गर्छन् । मेरो हकमा भएको त्यही हो । म राजनीतिलाई व्यक्तिगत स्वार्थमा लाउँदिन, लेटर प्याड बेचेर खान्न, पार्टीको बदनाम हुने काम गर्दिन, आर्थिक लाभका लागि राजनीति गर्दिन । आर्थिक व्यवस्थापनका लागि म व्यवसाय गर्दछु । सामुदायिक वनको सन्दर्भमा मनहरी ८ देवकोटको भ्यू टावर मैले ८ बर्षअघि कल्पना गरेको कुरा हो । पिस पार्क मेरै नेतृत्वमा बनिरहेको छ । मनहरी ८ मा गुम्बामा ६५ फिटको बुद्धको मुर्तिको कल्पना मैले नै गरेको हुँ । सामुदायिक वन क्षेत्रमा पर्यटकीय क्षेत्र निर्माण गर्नुपर्छ भन्ने मेरो धारणा हो ।

–राजनीति गर्नेले अनिबार्य व्यवसाय गर्नुपर्छ कि गर्नुहुँदैन ?
राजनीति गर्नेले अनिबार्य व्यवसाय गर्नुपर्दछ । अथवा आर्थिक व्यवस्थापन हुने व्यवस्था मिलाउन सक्नुपर्दछ । अन्यथा त्यस्ता राजनीतिक नेता भ्रष्ट बन्नेछन् । आर्थिक रुपमा अपारदर्शी हुने, सामाजिक संघसंस्थाबाट रकम बुझेर खाने, अबसरहरु आफ्ना र परिवारका लागि मात्रै सोच्ने भयो भने न राजनीति राम्रो हुन्छ न समाज नै । त्यसैले हरेक राजनीति गर्ने मान्छेहरुको आम्दानीको स्रोत हुनुपर्छ । त्यस्ता मान्छेले सामाजिक संघसंस्था वा सरकारमा बसेर भ्रष्टाचार गर्नै पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here