मनहरी–भदौ ९ गते । चेपाङ बालबालिकालाई बाँड्न भनेर २०७७ साल असोज ६ गते ल्याइएको पिठो नबाँडेर म्याद गुजारेको सम्बन्धमा छानबीन गर्न मनहरीका युवा नेताहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी गर्नु भएको छ ।
ब्यक्तिगत रुपमा मनहरी गाउँपालिकाका युवा नेताहरु कृष्ण रुम्बा (झाँक्री, स्वतन्त्र उप्रेती र कृष्णचन्द्र पुरीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता गराउनु भएको हो । रुम्बा वाइसीएल मनहरीका अध्यक्ष, उप्रेती नेपाल तरुण दल मनहरीका अध्यक्ष र कृष्ण चन्द्र पुरी नेकपा (एकीकृत समाजवादी) निकट युवा संघका अध्यक्ष हुनुहुन्छ ।
उजुरीमा स्वास्थ्य संयोजक टिकाराम अधिकारीले पौष्टिक पिठो जनप्रतिनिधिहरुलाई समेत जानकारी नदिई गुपचुप राखी म्याद गुजारेर अनियमित गरेकाले छानबीन गरी कारबाहीको माग गरिएको छ । संयुक्त उजुरीमा एकातर्फ कोरोनाको कहरमा अनिकाल पर्ने, अर्काेतर्फ पौष्टिक पिठो कुहिएर जाने अबस्था के कसरी कसको कारण सिर्जना भयो सो को स्वतन्त्र छानबीन गरी स्वास्थ्य संयोजक अधिकारीसहितलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा २३१ नं मा दर्ता रहेको उजुरी भदौ ९ गते पेस गरिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य तथा गुण नियन्त्रण प्रविधि कार्यालय, उपभोक्ता हीत संरक्षण मञ्च, सञ्चारकर्मीसहितको टोलीले अनुगमन गरी ११ क्विन्टल ७० किलोग्राम पौष्टिक पिठो राखिएको मनहरी गाउँपालिकाको भण्डारण सिल गरेको थियो । वाइसीएल, युवा संघ र तरुण दलको टोली वडा नं ९ बाट समेत पौष्टिक पिठो बरामद गरी सार्बजनिक गरेको थियो ।
पौष्टिक पिठो बितरणबारे मनहरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित जनप्रतिनिधिहरुलाई जानकारी नभएको कार्यपालिका बैठकमा बताएका थिए । यसैबीच मनहरी गाउँपालिकाभित्र रहेका पत्रकारहरुलाई समेत थाहा नदिई मनहरी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र सापकोटा र स्वास्थ्य संयोजक अधिकारीले हेटौँडामा गएर पौष्टिक पिठोको बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको बुझिएको छ ।