ज्ञापन पत्र हस्तान्तरण गरिँदै ।

मनहरी–भदौ ९ गते । मनहरी–बागमती प्रदेश सभा सदस्य एबम् चेपाङ नेता सन्तबहादुर चेपाङले पश्चिम मकवानपुरको मनहरीमा रहेको मनहरी अस्पतालमै पोष्टमार्टम सुविधा उपलब्ध गराउन माग गर्दै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।

उहाँले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई लिखित रुपमै ध्यानाकर्षण गराउँदै मनहरी अस्पतालमा स्थायी मेडिकल अधिकृतको दरबन्दी र पोष्टमार्टमका लागि आवश्यक दरबन्दी उपलब्ध गराउन माग गर्नु भएको हो ।

सांसद चेपाङको माग बमोजिम मनहरी अस्पतालमा स्थायी मेडिकल अधिकृतको दरबन्दी व्यवस्थापन र पोष्टमार्टम सेवाका लागि राज्यमन्त्री श्रेष्ठले सहमति जनाउनु भएको सांसद चेपाङले बताउनुभयो । ‘अब छिट्टै स्थायी मेडिकल अधिकृत र पोष्टमार्टम सम्बन्धी व्यवस्था मनहरी अस्पतालबाट हुने आशा गरेको छु’, सांसद चेपाङले भन्नुभयो ।

आत्महत्या र दुर्घटनामा परेका व्यक्तिहरुका लास बोकेर हेटौँडा अस्पताल लैजानुपर्ने बाध्यताबाट पश्चिम क्षेत्रको मनहरी, कैलाश, राक्सिराङ गाउँपालिकाका बासिन्दा समस्या भोग्दै आइरहेका छन् ।

यसअघि यस्तै माग राखेर बागमती प्रदेश सरकारको ध्यानाकर्षण सांसद चेपाङले गराउनु भएको थियो । उहाँले सामाजिक विकास मन्त्री सरस्वती बस्नेत र राज्यमन्त्री रामकुमार अधिकारीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै मनहरी, राक्सिराङ, कैलाश लगायत ग्रामीण भेगका मानिसहरु अकालमै मर्दा पोष्टमार्टमका लागि हेटौँडा लैजानुपर्ने बाध्यता रहेको भन्दै मनहरीमै सुविधा माग गर्नु भएको थियो । तर, प्रदेश सरकारले उहाँको मागबारे सुनुवाई नगरेपछि संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here