कार्यक्रममा सहभागीहरु ।

मनहरी-भदौ १ गते । नेकपा एमाले मनहरी गाउँपालिका अध्यक्षमा नारायण श्रेष्ठ चयन हुनु भएको छ । मंगलबार मनहरी गाउँपालिका ३ लामिटारस्थित सामुदायिक भवनमा आयोजित भेलाबाट श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा आशा बल र सचिवमा ओम आलेमगर चयन हुनु भएको छ । ९१ सदस्यीय कमिटी चयन भएसँगै ९ वटै वडाका संयोजक र सह संयोजक समेत तोकिएको नव गठित कमिटीका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई बिभाजन गर्नेगरी अदालतले आदेश दिएपछि जेठ ३ अघिको अबस्था कुल्चँदै मनहरीमा केही व्यक्तिहरुको भेलाले नेकपा एमाले गठन गरेको घोषणा गरेको थियो । तर, अधिकाँश एमालेका संगठित सदस्य तथा शुभचिन्तकहरुलाई थाहा नदिई एकलौटी रुपमा केपी ओली पक्षधरले गरेको पार्टी गठनलाई मान्यता नदिई नयाँ कमिटी गठन गरिएको हो ।

२०७५ साल जेठ २ गते अघिको अबस्थामा केन्द्रीय अध्यक्ष केपी ओली र जिल्ला अध्यक्ष मुनु सिग्देल रहनुपर्ने र सोही अबधिको गाउँ कमिटी पनि कायम हुनुपर्नेमा त्यसो नगरी मनलाग्दी रुपमा एमाले गठन गरिएको भन्दै मंगलबार पुनः एमाले गाउँ कमिटी निर्माण गरिएको बताइएको छ ।
कमिटी पुननिर्माण तथा पार्टी एकता सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केदार न्यौपानेले केपी ओलीको अराजक गतिविधि र तानाशाही प्रबृत्तिले सीमा नाघेको भन्दै पुन बामपन्थी एकता र कम्युनिष्ट आन्दोलनको पुनर्गठन बाध्यता रहेको बताउनुभयो ।

उहाँले अहिले पनि ओलीले आत्मालोचना गरी सबैलाई समेट्न चाहेमा पार्टी एकता हुने भन्दै उनी सुध्रन नचाहँदा कम्युनिष्ट आन्दोलन पुनर्गठनको अबस्थामा पुगेको बताउनुभयो ।
एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले केपी ओलीले संविधान, पार्टीको विधान, बिधि र पद्धति मिचेर नांगै हिँड्दा समेत लाज नभएको तर आफूहरुलाई त्यस्तो हर्कतले लज्जाबोध भएको बताउनुभयो । संविधान जोगाउनका लागि एमालेका माधव नेपालसहितका सांसदहरुले गरेको योगदानलाई नेपाली जनताले सदैव सम्झिने उहाँको भनाई थियो ।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्दराम चेपांग र राजाराम स्यांतान, जिल्ला सचिवाल सदस्य श्रीधर पोखरेल, कृष्णबहादुर चेपांग, जिल्ला सदस्यहरु बालमुकुन्द ढकाल, मनिला बिष्ट, सगुन स्यांतान, युवा संघ जिल्ला अध्यक्ष किरणमान बल, अनेरास्ववियु केन्द्रीय सचिवाल सदस्य गोविन्द बर्ताैला, निजामति कर्मचारी संगठन केन्द्रीय सचिवालय सदस्य मधु मिजार, अनेम संघ गाउँ कमिटी अध्यक्ष देवकी ढुंगाना लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । नव गठित कमिटीले कम्युनिष्ट आन्दोलनको पुनर्गठित अबस्थाको चित्रण गरेको बक्ताहरुले बताएका थिए ।

कार्यक्रममा कृष्ण चन्द्र पुरीको अध्यक्षतामा युवा संघ नेपाल मनहरी गाउँ कमिटी गठन भएको छ ।
कार्यक्रमले मनहरी गाउँपालिका ९ वटै वडामा संयोजक र सह संयोजक तोकेको छ भने अब सबै वडामा तत्कालै वडा कमिटीहरु निर्माण गर्ने र जनबर्गीय संगठनहरु पूर्ण रुपमा पुनर्गठन गरी सक्रियता देखाउने समेत निर्णय गरेको छ । सामाजिक कुरीति र बेथितिबिरुद्ध अन्य राजनीतिक दलहरुसँग समेत मिलेर समन्वयमा काम गर्ने गरी युवालाई परिचालन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here