मनहरी–साउन ३० गते । कोभिड १९ को दोस्रो लहरका नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरिरहँदा मनहरी गाउँपालिकासहित स्थानीय तहका बिपन्न र गरिब बस्तीहरुमा अनिकालले मानिसहरु समस्यामा परे । अनिकालग्रस्त गाउँहरुमा विभिन्न संघसंस्था, राजनीतिक पार्टी र सरकारले समेत दाल, चामल तथा खाद्यान्न बितरण गरेको थियो ।

तर, एकातिर गाउँमा अनिकाल परिरहँदा अर्काेतर्फ जनतालाई खाना, नाना र छानाको जिम्मेवारी लिनुपर्ने स्थानीय सरकारको गोदाममा भने खाद्यान्न कुहिएको पाइएको छ । मनहरी गाउँपालिकाले निजी व्यक्तिको घरमा गोदाम गरेर राखेको ११ क्विन्टल ७० किलोग्राम पौष्टिक आहार पिठो कुहिएको पाइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएलले उक्त गोदाम खानतलासी गरी कुहिएको खाद्यान्न बरामद गरी गाउँपालिकालाई ध्यानाकर्षण गराएसँगै यो घटना बाहिर आएको हो ।

तीन महिनाअघि आएको ती पौष्टिक आहार मनहरी गाउँपालिकाकाले ६ महिनादेखि २३ महिनाभित्रका बालबालिकालाई बितरण गर्नुपर्ने संघीय सरकारको निर्देशन थियो । सोही अनुसार केही सामग्री बितरण गरिएको र बाँकी गोदाममै रहेकाले म्याद गुज्रिएको स्वास्थ्य शाखा संयोजक टिकाराम अधिकारीको भनाई छ ।

उहाँका अनुसार बढी भएको सामग्री बितरण गर्नेबारे कुनै निर्देशन र कार्यविधि नआएकाले पनि सामग्रीलाई बितरण नगरी थन्क्याइएको थियो । तर, यो कदमबारे कार्यपालिका र जनप्रतिनिधिहरु जानकार नरहेको बताइएको छ ।

‘बढी भएको सामग्रीबारे कार्यपालिकामा निर्णय गर्न लगाउने हो र गरिब जनतालाई बाँड्ने व्यवस्था मिलाउने काम जिम्मा पाएका अधिकारीको हो’, मनहरीका एक राजनीतिक अगुवा भन्नुहुन्छ–‘संघीय सरकारले गरिबका बालबच्चाका लागि पठाएको पोषण खाना कुहिँदा यो भन्दा लाजमर्दाे कुरा अर्काे के हुन सक्ला ?’ गाउँपालिकाले यति सानो निर्णय पनि गर्न नसकेको भन्दै उहाँले आक्रोश पोख्नु भयो ।

स्वास्थ्य शाखाको कमजोरीका कारण पोषणयुक्त खाद्य सामग्री कुहिएपछि गाउँपालिकाले यसबारे चासो जनाएको छ । लिखित र मौखिक जानकारी आएसँगै स्वास्थ्य संयोजक टिकाराम अधिकारीलाई टेलिफोन गरी यसबारे सोध्ने काम गरिएको र चित्तबुझ्दो जबाफ नपाएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।

‘आइतबारसम्ममा लिखित जबाफ माग गरेका छौँ, त्यसपछि घटना के हो भन्नेबारेमा प्रष्ट पार्छाै ।’, उहाँले भन्नुभयो–‘तर प्रारम्भिक चरणमा स्वास्थ्य शाखाको कमजोरी देखिएको छ ।’

स्वास्थ्य शाखाले खरिद गरेका विभिन्न स्वास्थ्य सामग्रीहरुका बारेमा पनि विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् । गर्भवतीले पाउनुपर्ने अण्डासहितको पोषण प्याकेट पनि अनियमित पाइएको छ भने स्वास्थ्य शाखा अन्तर्गत मनहरी अस्पताल, स्वास्थ्य इकाई तथा प्रशासनमा काम गर्ने अधिकाँश कर्मचारीहरु स्वास्थ्य संयोजकसँग दुई बर्षदेखि रुष्ट रहेको स्रोतले बताएको छ ।

कर्मचारीहरुलाई गाउँपालिकाबाट पारित योजनाबारे जानकारी नगराउने, तालिम, गोष्ठीहरु गर्दा सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई थाहा नदिने, अफ्ठ्यारोमा परेपछि फोन नउठाउने, स्वास्थ्य संस्थाले मागेका सामग्रीहरु समयमै उपलब्ध नगराउने लगायतका कमी कमजोरी स्वास्थ्य प्रमुख अधिकारीबाट भइरहेको कर्मचारीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here