भिडियो एक्सरे गरिँदै ।

राक्सिराङ–साउन २८ गते । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकामा भिडियो एक्स रे सेवा सुचारु गरिएको छ । राक्सिराङ गाउँपालिकाले सञ्चालन गरेको राक्सिराङ ५ ठाडेचुरीस्थित राक्सिराङ अस्पतालमा भिडियो एक्सरे सेवा सुचारु गरिएको हो ।

ग्रामीण अल्ट्रा साउण्ड कार्यक्रम अन्तर्गत गर्भवतीले निः शुल्क रुपमा भिडियो एक्स रे सेवा पाउने स्वास्थ्य संयोजक बिजय कापरीले बताउनुभयो । अल्ट्रा साउण्ड सम्बन्धी तीन महिनाको तालिम लिएर आएका स्वास्थ्यकर्मी परिचालन गरी सेवा सुचारु गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य संयोजक कापरकिा अनुसार राक्सिराङ अस्पतालका अलावा खैराङ, सरिखेत र काँकडास्थित स्वास्थ्य चौकीमा समेत महिनाको एकपटक अल्ट्रा साउण्ड सेवा सञ्चालन गरिनेछ ।

गर्भवती महिलाको कम्तीमा ४ पटक स्वास्थ्य जाँचसँगै भिडियो एक्सरे गरी बच्चाको अबस्था बुझ्नुपर्ने अनिबार्य व्यवस्था छ । तर, राक्सिराङका गर्भवतीहरु भिडियो एक्सरेका निम्ति मनहरी, हेटौँडा तथा चितवनका अस्पतालमा जानुपर्ने बाध्यतामा थिए ।

गाउँपालिकाले निःशुल्क अल्ट्रा साउण्डको व्यवस्था गरिदिएपछि गर्भवतीहरुलाई ठूलो राहत पुगेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । उहाँका अनुसार राक्सिराङ अस्पतालमा ल्याब सञ्चालन गरी दिशापिसाव, रगत, खकार लगायतको जाँच गर्ने व्यवस्था पनि छिट्टै गरिनेछ ।

स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधि आएपछि गाउँमा अस्पताल खुल्नुका साथै पहिलोपटक एमबिबिएस डाक्टरले समेत सेवा दिइरहेको उहाँले बताउनुभयो । राक्सिराङ गाउँपालिकामा आर्थिक बर्ष २०७७/७८ मा १५० जना गर्भवतीले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माएका छन् ।

त्यसो त गाउँघरमै सुत्केरी गराउने र राक्सिराङ गाउँपालिका बाहिरका स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या पनि बढ्दो क्रममा रहेको र एक बर्षमा गाउँपालिकाभरिमा ७ सय जना महिला गर्भवती हुनेगरेको अनुमान स्वास्थ्य शाखाले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here