कैलाश–असार २७ गते । चालू आर्थिक बर्षका लागि कैलाश गाउँपालिकाकाले असार १० गते पेस गरेको योजना तथा कार्यक्रमलाई गाउँसभाले पारित गरेसँगै पारित योजना तथा कार्यक्रमहरुको कार्यान्वयनका लागि कार्यपालिकाले तालिका निर्माण गरेको छ ।

आर्थिक बर्ष २०७८/७९ का लागि असार २८ गते समापन भएको गाउँसभाबाट पारित गरेका नीति कार्यक्रम तथा योजनाहरुको कार्यान्वयन गर्न कार्यपालिका बैठकले समय तालिका निर्माण गरेको हो । जस अनुसार हरेक शाखाबाट सम्पादन हुने कार्यक्रमहरुको आबधिक कार्यसूचि निर्माण गरिएको छ । बढीमा जेठ मसान्तसम्ममा कार्यक्रम तथा योजनाहरु सञ्चालन हुने गरी कार्यतालिका निर्माण गरिएको छ ।

चालू आर्थिक बर्षमा जतिसक्दो चाँडो बजेट तथा योजना कार्यान्वयनका लागि ध्यान दिएर तालिका निर्माण गरिएको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो ।

यसअघि विभिन्न सञ्चार माध्यमहरुमा गाउँसभामा बजेट नै पारित नभएको र बजेट कार्यान्वयन हुन नसक्ने भन्दै समाचारहरु सार्बजनिक भएका थिए । असार २७ गते आयोजना भएको कार्यपालिका बैठक ढिलो भएको भन्दै १० मध्ये ८ जना वडाध्यक्षहरुले लिखित रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेखी बहिस्कार गरेको घोषणा भएको थियो । लगत्तै गाउँपालिका अध्यक्षको निर्देशन अनुसार असार २८ गते गाउँसभा समापन भएको सार्बजनिक सूचना जारी गरिएको थियो ।

साउन २२ गते आयोजित कार्यपालिका बैठकमा सबै वडाध्यक्षहरु सहभागी भएको र गाउँसभाबाट कुनै पनि टिका टिप्पणी नभएको अध्यक्ष मुक्तानले बताउनुभयो । मिडियाहरुमा आएका समाचारहरुले भ्रम सिर्जना गरेको भन्दै स्वीकृत बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनमा कोही पनि कार्यपालिका सदस्य असहमत नदेखिएको उहाँले बताउनुभयो । ‘विवाद छ भनेर केही मान्छेहरुले राजनीति गर्न चाहेका थिए’, अध्यक्ष मुक्तानले भन्नुभयो–‘कार्यपालिका सदस्यहरुलाई केही समय प्रभावित पार्न खोजिए पनि त्यो सम्भव भएन ।’

उहाँका अनुसार १० वटै वडाका वडाध्यक्षहरुले माग गर्नु भएको बजेटलाई असार ८ गतेको कार्यपालिकाले पारित गरी नीति तथा कार्यक्रममा समेत समेटेर असार १० गते पेस भएको थियो । वन तथा वातावरण विधेयकबारे छलफल गरेर २८ गते गाउँसभा समापन गर्ने कार्यसूचि तोकिएपनि तत्कालीन कार्यपालिका सदस्यले २७ गतेदेखि नै बहिस्कार गरेको लिखित घोषणा गरेपछि असार २८ गते गाउँसभा समापन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here