मनहरी–असार ३० गते । मनहरी गाउँपालिकाभित्र देखा परेका बेथितिबारे नागरिकले आलोचनात्मक टिप्पणी गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यलय, हेटौँडाको आयोजना तथा डब्लुपीडी नेपालको सहकार्यमा मनहरी गाउँपालिकामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले विभिन्न विषयहरूमा गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले गाउँपालिकामा ठूला ठूला विकास निर्माणका कामहरुका चर्चा हुने गरे पनि सामान्यभन्दा सामान्य कुरामा ध्यान दिन नसकेको आरोप लगाएका थिए । ‘हाम्रो गाउँमा हरियो सर्पले टोकेर अस्पताल लगेका मान्छे ५ दिनदेखि आइसियुमा छन्’, सिर्जना बिडारीले भन्नुभयो–‘गाउँपालिकाले हाम्रै अस्पतालमा सर्पदंशको सुईको व्यवस्था गर्न सक्दैन ?’ बिडारीको जिज्ञासामा समर्थन जनाउँदै राजकुमार ढकालले भन्नुभयो–‘सर्पदंशसँगै रेबिजको सुईको व्यवस्था पनि गाउँपालिकाले गर्न सकेको छैन ।’ रेबिज र सर्पदंश बिरुद्धको सुई मनहरी अस्पताल र स्वास्थ्य चौकीमा राख्नका लागि उहाँहरुले जोड दिनु भएको थियो ।

सर्पदंश र रेबिजबिरुद्धको सुईको सबाल उठिसकेपछि मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले मनहरी अस्पतालमा त्यसको व्यवस्थापन गर्न सकिने भन्दै अब हुने कार्यपालिका बैठकमा बिषय प्रवेश गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले वडा नं ३ को कार्यालयमा अपांगता परिचय पत्र बनाउन कर्मचारीहरुले उचित सहजीकरण नगरिदिँदा १ महिना धाउनुपरेको प्रसंग उठाउनु भएको थियो । त्यसैगरी वडा नं ७ मा हिंसाबाट पीडित व्यक्तिले न्यायका लागि वडास्थित मेलमिलाप समितिमा निवेदन दिएपनि समयमै सम्बोधन नहुँदा पीडा सहेर बस्न बाध्य भएको र दुईमहिनापछि मात्र न्यायिक समितिमा पुगेपछि न्याय पाएको सन्दर्भ उठान गर्नुभयो ।

सार्बजनिक सुनुवाई कार्यक्रम ।

समूहका नाउँबाट गाउँपालिका तथा अन्य निकायहरुबाट कृषि यन्त्र पाएकाहरुले एकलौटी व्यवसाय गर्नेगरेको र समूहलाई समेत चर्काे शुल्क लिएर कुटानी पिसानी गरिरहेको प्रसंग पनि उठेको थियो ।

वडा नं ३ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका केही शिक्षकहरु विद्यालय सञ्चालन हुँदासमेत ११ बजेसम्म बस्तीपुरतिरै भेटिने गरेको भन्दै एक सहभागीले भन्नुभयो–‘४–५ बर्षदेखि अभिभावक भेला भएको पनि थाहा हुन छाड्यो, विद्यालयका शौचालयमा गुट्खा र परागका खोल भेटिन छोडेन ।’

मनहरीमा धुमधामका साथ अस्पताल त शिलान्यास भयो, अब कहिले बन्छ भनेर मानव अधिकार समूहका सदस्य प्रल्हाद लम्सालले प्रश्न गर्नु भएको थियो भने विद्यालय मर्ज गर्ने कुरा कुरामै सीमित भएको भन्दै व्यंग्य गर्नु भएको थियो । गाउँपालिकाले समूह र सहकारीमार्फत बिऊ बितरण गर्ने कार्य प्रभावकारी नभएको र २०२४ साल ताकाकै ‘पातमा बीऊ बाँड्ने चलन’ ले निरन्तरता पाएको उहाँको तर्क थियो ।

गाउँपालिकाभित्र अनुदानको गाई बितरणमा पनि पारदर्शिता नरहेको र बितरित गाईको दूध संकलन लगायत व्यापारिक प्रयोजनको अनुगमन गर्ने संयन्त्र नभएको भन्दै सहभागीहरुले समूह र सहकारीमा नरहेका व्यक्तिहरुले अनुदान र सहुलियत नपाएको गुनासो गरेका छन् ।
‘डिजिटल हाजिरीको व्यवस्थापन चुस्त दुरुस्त गर्नुपर्ने भन्दै पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले अनलाइन माध्यमबाट गाउँपालिकाबाटै केही विद्यालयको अनुगमन गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

उठेका सबालहरुको जबाफ दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले कर्मचारीका सम्बन्धमा उठेका सबालबारे आफूले तत्कालै एक्सन लिने बताउनुभयो । उपाध्यक्ष मनिला बिष्टले राम्रा सुझावहरु प्राप्त भएको भन्दै आगामी दिनमा काम गर्नका लागि सार्बजनिक सुनुवाईमा उठेका सबालहरुले मार्ग निर्देशन गरेको बताउनुभयो ।

उहाँले नागरिक समाजले स्थानीय तहलाई सचेत पारिरहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उठेका सबालहरुबारे कृषि प्राविधिक उज्वल रानामगर, पशु प्राविधिक बरुण ठाकुर, स्वास्थ्य संयोजक टिकाराम अधिकारी, शिक्षा संयोजक हरिचन्द्र सापकोटा लगायतले पनि प्रष्ट पार्नु भएकोथियो ।

कार्यक्रम मानव अधिकार समूह मनहरीका अध्यक्ष बिमला गोपालीको सभाध्यक्षतामा भएको थियो भने कार्यक्रमको बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख कृष्ण गौतमले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा ५ नं वडा सदस्य इन्द्रकुमारी मिजार, इन्सेकका प्रतिक्षा खड्का, मानव अधिकार समूहका सचिव दीपेन्द्र अधिकारी, सहजकर्ता सलिना गौतम लगायतको सहभागिता थियो भने सहजीकरण मानव अधिकार समूहका सदस्य शिवकुमार काशीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here