नेपाली काँग्रेस मकवानपुरको टोली केन्द्रीय कार्यालय धर्नामा ।

मनहरी–असार ३० गते । १४ औँ महाधिवेसनको पूर्व सन्ध्यामा मकवानपुर काँग्रेसमा सदस्यता विवाद तीब्र भएको छ ।
सदस्यता विवाद टुंग्याउन मकवानपुर काँग्रेसले गरेको पहललाई समेत केन्द्रीय कार्यालयबाट लत्याएर परिपत्र भएपछि पूर्व सभापति माइकल रामचन्द्र अर्यालसहितका नेताहरुले केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन् ।

नेपाली काँग्रेसका एक नेताका अनुसार मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका वडा नं २ र ९ मा नयाँ सदस्यता विवाद छ भने समायोजन प्रक्रियामै सहभागी नभएको फोरम लोकतान्त्रिकका नाममा थप २१ जनाले मकवानपुरमा क्रियाशील सदस्यता पाएका छन् ।

स्रोतका अनुसारसदस्यता विवाद समाधानका लागि जिल्ला सभापति इन्द्रबहादुर बानियाँ र सचिवद्वय बुद्ध लामा र आनन्द कठायतले विवाद भएका भूगोलमा पुरानै क्रियाशील सदस्यका आधारमा निर्वाचन गर्नका लागि गरेको सिफारिस समेत केन्द्रीय कार्यालयले मानेको छैन ।

‘जिल्लाबाटै केन्द्रीय कार्यालयलाई प्रभाव पार्नेगरी गतिविधि गर्ने नेताका कारण सभापति र सचिवद्वयको लिखित पत्रलाई पनि टेरिएन’, काँग्रेस स्रोत भन्छ–‘उनीहरुको उद्देश्य नै नयाँ भर्ती गरेर पुराना र निष्ठावान् नेताहरुलाई पाखा पार्ने देखिन्छ ।’

केन्द्रीय कार्यालयमा धर्नामा बसेका नेताहरुमा पूर्व सभापति माइकल रामचन्द्र अर्याल, महासमिति सदस्यहरु रिता खनाल, उमा दाहाल, जयराम लामिछाने, नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री तथा जिल्ला नेतृत्वमा दाबी गरिहेका प्रभात दाहाल लगायत रहनु भएको छ ।
संस्थापन पक्षले एकोहोरो पेलान गरिरहेको भन्दै इतर पक्षले मकवानपुरमा असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ । आगामी अधिवेसनहरुमा वडादेखि जिल्लासम्मै संस्थापन र इतर पक्षबीच घम्साघम्सी हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here