डिभिजन वन कार्यालय राप्ती मनहरी परिसरमा स्थापना भएको नर्सरी ।

मनहरी–असार ३ गते । तपाई बिरुवा रोप्नेबारे सोच्दै हुनुहुन्छ ? त्यसो हो भने डिभिजन वन कार्यालय राप्ती मनहरीमा सम्पर्क राख्नुहोस्, निःशुल्क बिरुवा पाइन्छ ।

गत आर्थिक बर्षको स्टक समेत गरेर डिभिजन वन कार्यालय राप्ती मनहरीमा एकलाख भन्दा बढी बिरुवाहरु तयारी अबस्थामा छन् । कार्यालयका अनुसार सामुदायिक वन, निजी वन तथा राष्ट्रिय वन क्षेत्रहरुमा माग बमोजिम बृक्षारोपणका लागि हरेक बर्ष नर्सरी स्थापना गरी बिरुवा उत्पादन भइरहेको छ ।

यस बर्ष पनि विभिन्न जातका ४० हजार नयाँ बिरुवा उत्पादन गरिएको कार्यालयका सहायक वन अधिकृत दिनेश हुमागाईँले जानकारी दिनुभयो । टिक, मसला, नीम, सिसौ, टाँकी, कोइराला लगायतका बिरुवाहरु उत्पादन भएका छन् । ‘उत्पादित बिरुवाहरु सबै रोप्नका लागि तयारी अबस्थामा छन्’, हुमागाईले भन्नुभयो–‘माग अनुसार सामुदायिक वन र उपभोक्ता सदस्यहरुलाई बिरुवा प्रदान गरिनेछ ।’
कार्यालयका अनुसार गत बर्षकै बिरुवा पनि स्टक छ ।

कोभिड १९ का कारण गत बर्ष बृक्षरोपण हुन नसक्ने अबस्था भएकाले बिरुवा स्टक बसेको हो । कार्यालयले दिएको जानकारी अनुसार मार्खु इन्द्रसरोवरमा रहेको नर्सरीमा लौठ सल्लाको बिरुवा ७ हजार थान, तेजपात २० हजार थान र टिमुर, कल्कीफुल, इपिल, टाँकी लगायतका बिरुवा ७ हजार थान स्टक छन् ।

पालुङ झम्केश्वरी नर्सरीमा खोटेसल्लाको बिरुवा ३ हजार थान, पात्ले सल्लाको बिरुवा १५ हजार थान, बकाइनो ३ हजार थान, पाखनबेदका बिरुवा ३ हजार र अन्य ६ हजार बिरुवा गत बर्षकै स्टक रहेको कार्यालयले जनाएको छ ।

चालू आर्थिक बर्षमा फलफुलका बिरुवा, आँप, लिची, कटहर लगायतका १० हजार थान बिरुवाहरु खरिद कार्य पूरा भइसकेको गरी बितरण गर्न लागिएको सहायक वन अधिकृत हुमागाईले जानकारी दिनुभयो । असारको दोस्रो हप्ताबाट विभिन्न सामुदायिक वन, निजी वन, उपभोक्ता, संघसंस्था र स्थानीय तहहरुसँग समेत समन्वय गरी बिरुवा बितरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here