निसंक्रमणका लागि स्प्रे गरिँदै ।

हेटौँडा–असार १ गते । कोरोनाको दोस्रो लहरले चर्काे रुप लिएर संक्रमण बढ्दै र मानिसहरुको मृत्यु हुँदै गर्दा हेटौँडाका युवाहरु भने स्वयम् सेवकका रुपमा संक्रमित र मृतकका घर निसंक्रमण अभियानमा जुटेका छन् ।

नेपाल स्काउट बागमती प्रदेशको प्राविधिक सहयाेग र हेटाैडा उपमहानगर समितिकाे आयोजनामा बागमती प्रदेश समितिले प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमित बसेका वा मृत्यु भएका घरहरुमा निसंक्रमण गराउन अभियान सञ्चालन गरेको हो । अभियान अन्तर्गत हेटौँडाका १ सय घरमा निसंक्रमण गरिएको अभियानका संयोजक अशोक सारु मगरले बताउनुभयो ।

“सरकारी मापदण्ड बमोजिम नै निसंक्रमणका लागि हेटौँडाका १९ वटै वडामा पुग्यौँ”, संयोजक सारुमगरले भन्नुभयो–“संक्रमित बसेका र मृतक समेत भएका घरमा पुगेर स्प्रे गरिदिँदा संक्रमित परिवारलाई ठूलो राहत मिलेको पाएका छौँ ।”

१ सय घरधुरीमा निसंक्रमण कार्य सम्पन्न भएपछि अहिले फोन गरेर बोलाउनेहरुको घरमा मात्रै निसंक्रमणका लागि टोली जाने गरेको स्काउटले जनाएको छ । नेपाल स्काउट हेटौँडा उपमहानगर समितिका स्वयम्सेवक युवाहरुको सक्रियतामा यस्तो अभियान थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here