मनहरी–जेठ २८ गते । चालू आर्थिक बर्षको अन्त्यसम्ममा मनहरी गाउँपालिकामा नयाँ एम्बुलेन्स आउने भएको छ । मनहरी गाउँपालिकाले अघिल्लो आर्थिक बर्षमै खरिद प्रक्रिया अघि बढाएको एम्लुलेन्स हालसम्म नआएपछि आलोचना भएको थियो ।

गत बर्ष कोरोना संक्रमण बढेर क्वारेन्टाइन निर्माण र आइसोलेसनका काम धमाधम भइरहँदा बिपद् व्यवस्थापन समितिको सिफारिसपछि कार्यपालिका बैठकले एम्बुलेन्स किन्ने निर्णय गरेको थियो । तर, लामो समयसम्म पनि एम्बुलेन्स खरिद हुन सकेको थिएन ।
‘नयाँ एम्बुलेन्स खरिदका लागि सम्झौता भएको छ’, मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले भन्नुभयो–‘यो अत्यावश्यकीय सवारी भएकाले जतिसक्दो छिटो खरिद गर्ने व्यवस्था मिलाउन लागेका हौँ ।’ बिगतमा विभिन्न कारणले रोकिएको एम्बुलेन्स खरिद प्रक्रियालाई अघि बढाइएको उहाँले बताउनुभयो ।

मनहरी लाइभ डटकमरेडियो मनहरी एफएमसँग कुराकानी गर्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले गाउँपालिकाको प्रशासनिकसहित अन्य काम कारबाहीलाई परिणाममुखी बनाउन प्रयत्न रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँ जेठ १० गते मात्रै मनहरी गाउँपालिकामा सरुवा भएर आउनु भएको हो ।

आफू आउने बित्तिकै कर्मचारी बैठक राखेर सेवा सुधारका लागि सहजीकरण गरिएको, उपभोक्ता समिति र सेवाग्राहीहरुका गुनासाका आधारमा कतिपय कामको समेत सहजीकरण गरिएको उहाँले बताउनुभयो । ‘निषेधाज्ञाका कारण खानेपानी योजनाका लागि पाइप खरिद गर्नै समस्या थियो’, प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो–‘पाइप उत्पादक कम्पनीहरुलाई पत्र पठाएर भएपनि पाइपको व्यवस्था गरियो ।’
उहाँले विधि, पद्धति र प्रक्रिया अनुसार कार्य सम्पादनलाई चुस्त, दुरुस्त रुपमा अघि बढाउनका लागि आफू हरसम्भव प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कोभिड १९ का कारण कम कर्मचारीहरुको परिचालन गरी गाउँपालिकाले निरन्तर सेवा दिइरहेको उहाँको भनाई छ । कोभिड लगायत विभिन्न कारणले गर्दा मनहरी गाउँपालिकाको विकास बजेट २६ प्रतिशत मात्रै खर्च भएको भन्दै उहाँले खर्चको प्रतिशत बढाएर ५० पु¥याउने गरी काम अघि बढाइएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here