मनहरी–जेठ २४ गते । मनहरी गाउँपालिकाले ऐलानी जग्गाको नापी कार्यलाई अघि बढाएको छ ।

वडा नं १ र ६ बाट नापी कार्य सुरु भएको हो । दुबै वडाबाट सुरु भएको नापी कार्य अन्य वडाहरुमा समेत बिस्तार हुँदै जाने मनहरी गाउँपालिका भूमि व्यवस्थापन शाखाले जनाएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगसँगको समन्वयमा गाउँपालिका स्तरीय जग्गा सहजीकरण समितिको निर्णय बमोजिम जग्गा नापी सुरु भएको हो । जग्गा नापीको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले २०४० सालपछि पहिलोपटक जग्गा नापी हुन लागेको भन्दै सरकारको घोषणा बमोजिम सबै नागरिक भूमिको स्वामित्वबाट बन्चित हुनु नपर्ने बताउनुभयो । दुबै वडामा आयोजित कार्यक्रममा उहाँले नागरिकहरुका विभिन्न प्रकारका जग्गा फरक फरक तरिका अनुसार लालपुर्जा पाउने बताउनुभयो ।

उपाध्यक्ष मनिला बिष्टले कार्यक्रममा सम्बोधन गर्दै चुनावका बेला गरिएका बाचा पूरा गर्ने क्रममा अन्य भौतिक विकासहरुसँगै लालपुर्जाको काम पनि अघि बढाइएको बताउनुभयो । कार्यक्रममा गाउँपालिका स्तरीय जग्गा सहजीकरण समितिका तर्फबाट सीताराम अर्याल, हेमलाल उप्रेती, पम्फा रोक्का, मिठु थापा लगायतको सहभागिता थियो भने वडा नं १ मा वडाध्यक्ष शिवप्रसाद खनालको सभाध्यक्षता र वडा ६ मा वडाध्यक्ष गोपीलाल मुक्तानको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

मनहरीमा ८ हजार जना मानिसले पुर्जा माग गर्दै निवेदन दिएका छन् भने ९ सय ४४ बिगाह भोगचलन नभईकन पर्तीको रुपमा रहेको पाइएको छ । हजारौँ बिगाह जग्गा भोगचलन भई अव्यवस्थित बसोबासीका रुपमा मानिसहरुले उपयोग गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here