मनहरी-जेठ २२ गते । नेपाल विद्युत प्राधिकरण हेटौँडा बितरण केन्द्रले मनहरी क्षेत्रमा प्रसारण गरिरहेको विद्युत सर्किट मर्मतका लागि तीन दिन विद्युत अबरुद्ध गरिने जनाएको छ ।

जेठ २३, २४ र २५ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म युनिलिभर फिडर अन्तर्गतको विद्युत प्रसारण अबरुद्ध हुने प्राधिकरणले सार्बजनिक सूचना जारी गरी जानकारी दिएको छ । यस फिडर अन्तर्गतका मनहरीको सुनाचुरी र राक्सिराङ गाउँपालिकातर्फ बिस्तार भएका विद्युत सेवा पूर्ण रुपमा अबरुद्ध हुनेछ ।

युनिलिभर फिडर अन्तर्गतका विद्युत तारहरु जुनसुकै बेला चुँडिएर झर्न सक्ने र दुर्घटना हुन सक्ने भएकाले मर्मत सम्भार गर्न लागिएको हेटौँडा बितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँले दिनानुदिन बढेको गर्मीका कारण विद्युत लोड बढी भइरहेकाले तारहरु जुनसुकै बेला झर्न सक्ने भएकाले तीन दिन लगाएर सुधार गर्न लागिएको बताउनुभयो ।

‘अहिले पनि बेला बेलामा तार चुँडिएर वा लत्रिएर झरिरहेको अबस्था’, प्रमुख ठाकुरले भन्नुभयो–‘अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन, क्षति हुनु अघि नै यसलाई सुधार गर्न खोजेका हौँ ।’
तर प्राधिकरणले सुधार गर्नका लागि निर्धारण गरेको मिति जेठ २३, २४ र २५ गते निरन्तर बर्षा भएमा वा मौसम बदली रहेमा सुधारका काम नहुने र नियमित विद्युत प्रसारण गरिने उहाँले बताउनुभयो ।

मर्मतका कारण विद्युत अबरुद्ध हुँदा उपभोक्तामा पर्ने असरप्रति प्राधिकरण क्षमाप्रार्थी रहेको प्रमुख ठाकुरले बताउनुभयो । ‘गर्मीका बेला बिजुली काट्नुपर्दा हामीलाई पनि दुःख लागेको छ’, प्रमुख ठाकुरले भन्नु भएको छ–‘राम्रो कामका लागि यहाँहरुले केही समय दुःख सहिदिनुहुनेछ भन्ने आशा लिएको छु ।’ मर्मत सुधारपछि विद्युत क्षमता पनि बढ्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here