बैठकमा सहभागीहरु ।

मनहरी–जेठ २२ गते । मनहरी गाउँपालिकाले सरोकारवालासँग पटक पटकको अन्तरक्रिया र छलफलपछि निर्माण गरेको शिक्षा नीति पारित गरेको छ ।

गाउँ शिक्षा समितिको बैठकले शिक्षा नीति पारित गरेको हो । मनहरी गाउँपालिकाका शिक्षा समिति सदस्यहरु, जनप्रतिनिधिहरु, शिक्षा सेवी, शिक्षक, अभिभावक समेतको सहभागितामा शिक्षा नीति निर्माण गरी पारित गरिएको हो ।

पारित शिक्षा नीतिमा सबै विद्यालयहरुमा बाल विकास केन्द्र स्थापना गर्ने, बालमैत्री पूर्वाधारहरुको व्यवस्था गर्ने, शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्षीय सम्बन्धलाई स्थापित गरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने लगायतका नीतिहरु अख्तियार गरिएको शिक्षा शाखा संयोजक हरिचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

गाउँ शिक्षा समितिले गाउँपालिका भित्रका ११ वटा विद्यालयमा कम्प्युटर र पिन्टरको व्यवस्था गर्ने निर्णय गरेको छ । २ वटा निम्न माध्यमिक विद्यालय र ९ वटा प्राथमिक तहको अध्यापन हुने विद्यालयमा यसै बर्ष कम्प्युटर र प्रिन्टरको व्यवस्था गर्ने निर्णय भएको गाउँ शिक्षा समितिका सदस्य सचिव एबम् गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

बैठकले गाउँसभाबाट बिनियोजित स्थानीय शिक्षक अनुदान अन्तर्गत ४० लाख रुपियाँ विद्यार्थीको अनुपातका आधारमा १२ वटा विद्यालयलाई बितरण गर्ने निर्णय गरेको छ । त्यसैगरी ससर्त अनुदानबाट प्राप्त १७ लाख ५६ हजार रुपियाँ विभिन्न ६ वटा विद्यालयमा पठाउने निर्णय गरिएको छ ।

गाउँ शिक्षा समिति अध्यक्ष एबम् गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष मनिला बिष्ट, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, सामाजिक विकास समितिका संयोजक साधुराम अधिकारी, शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटा, पूर्णचन्द्र भुषाल लगायत गाउँ शिक्षा समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here