मनहरी–जेठ १६ गते । कोभिड–१९ दोस्रो लहरको संक्रमणका कारण जारी भएको निषेधाज्ञाले किसानहरु मारमा पर्न थालेका छन् । मनहरी गाउँपालिका वडा नं ५ का किसानले लगाएका कृषिबालीले बजार नपाउँदै कुहिन थालेको वडाध्यक्ष शुभराज थिङले बताउनुभयो ।

किसानहरुले लगाएका काँक्रो, बोडी, सिमी, करेला, केरा लगायतका तरकारी र फलफुल बाली बारीमै कुहिएर जान लागेको वडा अध्यक्ष थिङले बताउनुहुन्छ । मनहरी लाइभ डटकम र रेडियो मनहरी एफएमसँग कुराकानी गर्दै उहाँले निषेधाज्ञाका कारण बजार बन्द भएपछि फलफुल तथा तरकारी खेतबारीमै कुहिन लागेकाले किसानहरु मर्कामा परेको उहाँले बताउनुभयो ।

त्यस्तै वडा नम्बर ५ मा दुध उत्पादक किसानहरुको संख्या पनि उल्लेख्य रहेको छ ।निषेधाज्ञाका कारण व्यवसायिक तरकारी खेती जस्तै दुध उत्पादक किसानहरु पनि मारमा परेका छन् । साना किसान कृषि सहकारी संस्था द्वारा सञ्चालित दुध डेरीले नियमित दुध संकलन नगर्दा किसानहरु मर्कामा परेका हुन् । यस विषयमा वडा अध्यक्ष थिङ एकदमै चिन्तित हुनुहुन्छ । आगामी कार्यपालिका बैठकमा किसानले खेपेका समस्याबारे कुरा राख्ने पनि उहाँले बताउनुभयो ।

गाउँपालिकाको समन्वयमा सञ्चालित मोबाइल एम्बुलेन्स अर्थात अटो एम्बुलेन्सले प्रभावकारिता पाएको छ । गाउँमा कोही बिरामी परेमा छिटो ढंगले अस्पताल पु¥याउन सहज हुने भएकोले गाउँलेहरुले खुसी व्यक्त गरेका छन् । हाल ५ नं वडामा मोबाइल एम्बुलेन्सको रुपमा २ वटा अटोहरु सञ्चालनमा रहेको अध्यक्ष थिङले बताउनुभयो ।

वडामा वडापालिका स्वास्थ्य इकाइ पनि सञ्चालनमा रहेको छ । साधारण रुघाखाकी देखि साधरण सुत्केरीसम्मको सेवा वडापालिका स्वास्थ्य इकाइ मार्फत प्रदान गरिने उहाँले बताउनुभयो । कोभिडसंग मिल्दाजुल्दा समस्याहरु भए गाउँपालिकाले मनहरी– ८ सिम्पानीमा सञ्चालन गरेको कोभिड अस्पतालमा पठाइने उहाँले बताउनुभयो ।

हाल गाउँपालिकाले कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा पालनाका लागि वडावासीमा अनुरोध गरिएको र निषेधाज्ञा अवज्ञा समेत नभएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here