मनहरी–जेठ १५ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले झण्डै एकमहिनादेखि निषेधाज्ञा लगाएको छ । यस्तो बेलामा हिँडडुल गर्न र भीडभाड गर्न पूर्ण रुपमा निषेध हुन्छ । तर, मनहरी गाउँपालिका ७ नं वडामा निषेधाज्ञाको परिपालना पूर्ण रुपमा नभएका कारण कोरोना संक्रमण बढेको पाइएको ७ नं वडाध्यक्ष ठाकुरराम तितुङले बताउनुभयो ।

मनहरी लाइभ डटकमसँग कुराकानी गर्दै वडाध्यक्ष तितुङले स्वास्थ्य सुरक्षा अपनाउने काममा हेलचेक्र्याइँ गरेकाले अन्य वडाको तुलनामा ७ नं वडामा सबैभन्दा बढी मानिसहरु कोरोनाका कारण संक्रमित भएको बताउनुभयो । उहाँले दोस्रो लहरको कोरोना संक्रमण बढ्नुमा मानिसहरुको व्यवहार र अनुशासन नै जिम्मेवार रहेको दाबी गर्नुभयो ।

हाल सम्मको कोभिड अस्पताल मनहरीको रेकेर्डमा सबैभन्दा बढी मानिसहरुको संक्रमण भएको वडामा पहिलो नं मा नै ७ नं वडा परेको छ ।
निषेधाज्ञाको कारण ७ नं वडामा दैनिक ज्याला मजदुरी गरी खाने मजदुरहरुमा दैनिक गुजारा चलाउन समेत धौधौ भएको गुनासो आएको उहाँले बताउनुभयो । उहाँले त्यसको समाधानका लागि कार्यपालिका बैठकमा प्रयत्न गरिने बताउनुभयो । मजदुर बर्गका लागि राहतका कार्यक्रमहरु ल्याइने समेत उहाँले बताउनुभयो ।

निषेधाज्ञाको समयमा मनहरी बजारका केही व्यवसायीहरुले अटेर गरी व्यवसाय सञ्चालन गरेको भेटिएको र एकपटकको लागि सम्झाई बुझाई छोडिएको उहाँले बताउनुभयो । अटेर गरी पुनः व्यवसाय सञ्चालन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कार्वाही प्रकृया अघि बढाइने पनि उहाँले बताउनुभयो ।

निषेधाज्ञाले ७ नम्बर वडामा विशेष गरि कृषि क्षेत्रमा असर परेको वडा अध्यक्ष तितुङको ठम्याइ छ । विशेष गररी दुध उत्पादक किसानहरुको दुध नियमित सानाकिसान कृषि सहकारी संस्थ तथा निजी डेरीहरुले नउठाउँदा किसान मर्कामा परेका छन् । जसका कारण सहकारी तथा बैङ्कहरुबाट ऋण लिएर पशुपालनमार्फत दुध उत्पादनमा लागेकाहरुलाई व्याज तथा किस्ता तिर्न समेत धौधौ परिरहेको छ । त्यस्तै किसानहरुमा युरिया मलको अभाव पनि देखिएको छ ।

‘मलाइ दिनमा मात्रै ६–७ पटक फोन त युरिया मल चाहियो भनेर आउँछ’ वडा अध्यक्ष तितुङले भन्नुभयो– ‘युरिया मल केही मात्रामा त भित्रिरहेको छ तर विचौलियाहरुले लक्षित वर्गसम्म पुग्न गाह्रो बनाइरहेको छ ।’ अभावका बीच पनि समस्या समाधानको लागि लागि परिरहेको अध्यक्ष तितुङले बताउनुभयो । जसको लागि प्रमुख जिल्ला अधिकारीसंग पनि कुरा भइरहेको उहाँले बताउनुभयो ।

साथै वडापालिकाले निषेधाज्ञाको बीच पनि विकास निर्माणको कामलाई भने निरन्तरता दिइरहेको बताउनु भएको छ । हालै मात्र मानेडाँडा–रमौली जोड्ने ६ मिटर चौडा र १ किलोमिटर लम्बाइको पक्की सडक निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो । गाउँपालिकाको १ करोड र प्रदेश सरकारको १ गरि जम्मा २ करोड लगानीमा उक्त काम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here