मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधहिरु कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न ढंगले सक्रिय हुनु भएको छ ।

८ नम्बर वडा अध्यक्ष दिल बहादुर स्याङ्तान वडा कार्यालयमा नै गाउँपालिकाको निर्णय अनुसार कोभिड अस्पताल सञ्चालन गरिएको बताउनुहुन्छ । उहाँले वडा कार्यालयमा अघिल्लो बर्ष झै यस बर्ष पनि कोभिड अस्पताल चलाइएकाले पनि ८ नं वडाबासीलाई थप सजिलो भएको बताउनुभयो ।

मनहरी लाइभ डटकमसँग कुराकानी गर्दै उहाँले कोभिड १९ न्युनिकरणकै लागि वडा कार्यालय भवन उपलब्ध गराएर नजिकैको महेन्द्र किरण माध्यमिक विद्यालयबाट वडा कार्यालयको दैनिक गतिविधिहरु सञ्चालन भइरहेको बताउनुभयो । ‘गाउँ–गाउँमा भिडभाडजन्य कार्यक्रमहरु हुन नदिन पनि हामीले वडाबासीलाई सचेत गरेका छौँ’, उहाँले भन्नुभयो ।

भिडभाड रोक्न र अन्य व्यापारिक प्रतिष्ठानहरुबाट हुने गतिविधिहरुलाई रोक्नका लागि वडापालिकाबाट समय–समयमा अनुगमन समेत भइरहेको उहाँको भनाई थियो ।
८ नं वडामा दोस्रो लहरको कोरोना संक्रमण बृद्धिदर उच्च नै छ । यो वडामा एकजनाको कोरोना संक्रमणकै कारण ज्यान समेत गइसकेको अबस्था छ ।

ठूला ठूला क्रसर तथा बालुवा उद्योगहरु रहेको यो वडामा चितवनबाट गाडीहरु आउने र निर्माण सामग्री बोक्ने क्रम निरन्तर चलिरहँदा भने स्थानीयबासिन्दाहरु त्रसित हुनेगरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here