मनहरी–जेठ ९ गते । कोभिड १९ को संक्रमण रोक्न जनप्रतिनिधिका तर्फबाट सक्दो प्रयास भएको मनहरी गाउँपालिका १ नं वडाध्यक्ष शिवप्रसाद खनालले बताउनु भएको छ ।

उहाँले मनहरी लाइभ डटकम र रेडियो मनहरी एफएमसँग प्रतिक्रिया दिँदै गाउँपालिकाको निर्णय अनुसार २ वटा अटो एम्बुलेन्स स्ट्यान्ट बाइ राखिएको, स्वास्थ्य सुरक्षा अपनाउनका लागि आम जनसमुदायमाझ आग्रह गरिएको बताउनुभयो । मनहरी गाउँपालिका १ नं वडामा कोभिडका कारण २ जनाको मृत्यु भइसकेको सन्दर्भमा उहाँले दुबैजना व्यक्ति दीर्घ रोगीहरु भएको बताउनुभयो । ‘हामी आवश्यकभन्दा बढी आँत्तियौँ कि जस्तो लाग्छ’, वडाध्यक्ष खनाल भन्नुहुन्छ–‘जताबाट पनि मान्छे अत्याउँने काम गर्नुहुँदैन ।’

मृतकमध्ये एकजना आफ्नै बुहारी रहेको भन्दै वडाध्यक्ष खनालले नमिठो अनुभव सुनाउनुभयो । उहाँले बुहारीलाई अक्सिजन लगाएर हेटौँडा अस्पताल लगेपछि डाक्टरहरुको तर्फबाट राम्रो व्यवहार नपाइएको प्रतिक्रिया दिनुभयो । ‘बुहारीलाई अस्पताल पु¥याएपछि अक्सिजनको मात्रा बढाउनेबाहेक अरु काम भएन, सोधखोज गर्दा पनि उहाँहरुले राम्ररी बोल्न खोज्नु भएन ।’, वडाध्यक्ष खनालले भन्नुभयो–‘मेरो बुहारीलाई प¥यो भनेर मैले दुखेसो गरेको होइन, तर बिरामी र उनीहरुका आफन्तहरुसँग राम्ररी जबाफ दिनु स्वास्थ्यकर्मीको दायित्व हो ।’

अस्पताल पु¥याउँदा पनि राम्रो उपचार हुन्छ भन्ने विश्वास गुम्न दिन नहुने गरी व्यवहार गर्न उहाँले अस्पताललाई आग्रह गर्नुभयो । हाल निषेधाज्ञा जारी भएका बेला गाउँटोलमा भिडभाड नगर्ने गरी काम गर्नका लागि आफ्नो तर्फबाट सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

उहाँले सामान्य ज्वरो, रुघाखोकी लाग्ने बित्तिकै ‘बित्याँसै पा¥यो’ भन्ने ढंगले मानिसहरुले ठूलो बनाइदिँदा बिरामीको मनोबल घट्ने भएकाले सामान्यीकरण गर्दै बिरामीको उपचारका लागि सबैले सघाउ पु¥याउनुपर्नेमा जोड दिनुभयो । ‘हामी सबै मिलेर यो रोगका बिरुद्ध लड्ने हो, मनै मार्नेगरी निराशाको कुरा कोही कसैले गर्नुहुन्न, स्वास्थ्य सुरक्षा सबैले अपनाउनुपर्छ । म वडाबासीलाई यही आह्वान गर्दछु ।’,–वडाध्यक्ष खनालले भन्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here