राक्सिराङ–जेठ ८ गते । यतिखेर कोरोना भाइरसको संक्रमण जताततै फैलिएको छ । अघिल्लो बर्ष गाउँमा सितिमिति नपुगेको कोरोना भाइरसले यतिखेर पश्चिम मकवानपुरको मनहरी, राक्सिराङ र कैलाशका दुर्गम गाउँहरुमा पनि समस्या ल्याएको छ ।

अरु त अरु, कैलाश गाउँपालिकाको वडा नं २ को बैकुण्ठ, कैलाशजस्ता चिसो ठाउँमा समेत यसपटक कोरोनाको संक्रमण देखियो ।
एकसाताअघि राक्सिराङ गाउँपालिकाको दुर्गम क्षेत्र अर्थात ९ नं वडाको खैराङमा पनि कोरोना संक्रमण देखियो । त्यसले झन् त्रास बढाएको बताइन्छ । वडा नं ४ का कतिपय बस्तीहरु संक्रमणबाट अछुतो छैन ।

शुक्रबार भएको परिक्षणमा ४ नं वडाका केही मानिसहरुमा संक्रमण देखिएकाले चैनपुरस्थित आइसालेसनमा केही बिरामीलाई राखिएको छ भने होम क्वारेन्टाइनमा रहेनगरी शनिबार ३ जनालाई घर पठाइएको राक्सिराङ गाउँपालिका ४ नं वडाध्यक्ष सञ्जय कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँघरमा रुघाखोकी र ज्वरोका बिरामी धेरै नै देखिएका छन् ।

उनीहरु सबैलाई गाउँमै गएर कोरोना परिक्षण गर्ने तयारी गरिएको छ भने एक टोलबाट अर्काे टोल जान बन्द गरिएको छ । खासगरी मकै गोड्ने, माछा मार्ने काममा सामूहिक हिसाबले हिँड्दा पनि कोरोना संक्रमण फैलिएको अनुमान गरिएको छ ।

४ नं वडामा मात्रै होइन, राक्सिराङ र कैलाश गाउँपालिकाका कतिपय वडाहरुमा उस्तै समस्या छन् । मानिसहरु सुँक्सुकाएका छन् । ज्वरो, रुघा र खोकीका कारण गाउँमा बिरामी बढेका छन्, तर कोरोनाको डरले जँचाउन मान्दैनन् ।

मनहरी लाइभ डटकमसँग फोन सम्पर्कमा आउनु भएका वडाध्यक्ष कोइराला यतिखेर कोरोनाका कारण त पिरोल्लिएका छन् नै, त्यसैमा अर्काे आपत थपिएको छ–युरिया मल । ‘मकै हुर्केर बुढो हुन लागिसक्यो, युरिया मल पाइँदैन’, वडाध्यक्ष कोइरालाले गुनासो पोख्नु भयो । उहाँ भन्नुहुन्छ–‘ कृषि सामग्री कम्पनी हेटौँडालाई युरिया मलका लागि दिनको एकपटक फोन गर्ने गरेको छु, ठेक्का लागेको छैन भनेर जबाफ दिन्छन् ।’

अबको केही समयमै बर्षायाम सुरु हुने भएकाले बर्षाअघि नै खाद्यान्न, नून तेल गाउँमा लगिराख्नुपर्ने बाध्यता दुर्गमका गाउँहरुमा छ । तर, कोरोनाका कारण दैनिक उपभोग्य सामग्री, मल, बीऊ समेत गाउँमा लैजान सकिएको अबस्था छैन । ‘एकातिर कोरोनाको डरमर्दाे अबस्था बढ्दो छ भने अर्काेतिर मानिसहरु अनिकालकै कारण समस्यामा पर्ने देखिन्छ’, वडाध्यक्ष कोइराला भन्नुहुन्छ–‘हामी गाउँका सामान्य जनप्रतिनिधिले गाउँलेका समस्या टार्न नसक्ने अबस्थामा पुगेका छौँ ।’

कोइरालाले सम्बन्धित निकायले मल, बीऊको समस्याको समाधानका लागि पहल गरिदिनका लागि आग्रह गर्नु भएको छ भने गाउँका शंकास्पद बिरामीहरुलाई कोरोना जाँचका लागि सम्पर्कमा आउन आग्रह गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here