मनहरी–जेठ ६ गते । कोभिड १९ को संक्रमण नरोकिएको भन्दै पश्चिम मकवानपुरको मनहरी बजारसहितका राजमार्ग आसपासका सबै खाले पसल र व्यवसायहरु पूर्ण रुपमा बन्द गरिने भएको छ ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अब मनहरी बजार, बिजौना, सिमपानी, ज्यामिरे, लोथर, सुनाचुरी, रमौलीसहित साबिक हाँडीखोलातर्फ समेत पसलहरु पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

आगामी जेठ १३ गतेसम्म जिल्ला प्रशासन कार्यालय मकवानपुरले समेत निषेधाज्ञा जारी गरेको सन्दर्भमा मेडिकल र क्लिनिकहरुबाहेक सबै प्रकारका व्यवसायहरु बन्द गर्न लागिएको मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष ठाकुरराम तितुङले जानकारी दिनुभयो । जबरजस्ती रुपमा कोही कसैले व्यापार र व्यवसाय गरेमा कानूनी कारबाही गरिने गरी प्रहरी परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

बैठकमा सञ्चारकर्मी, उद्योग बाणिज्य संघ प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकले गोप्य रुपमा खुलेका कतिपय होटलहरुमा गाँजा र मदिरा सेवन गर्नेहरुको भीड देखिएको भन्दै प्रभावकारी अनुगमन गरी कारबाही गरिने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here