मनहरी–जेठ १ गते । मनहरी गाउँपालिका वडा नं ८ देवकोटकी एक महिलाको कोभिड १९ का कारण ज्यान गएको छ ।

चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) भरतपुरमा ४२ बर्षीया महिलाको शुक्रबार (बैशाख ३१ गते) साँझ मृत्यु भएको ८ नं वडा सदस्य पुस्कर सुवेदीले जानकारी दिनुभयो । मृतक महिला देवकोट घर भएपनि मनहरी ८ स्कुलडाँडामा डेरामा बस्नुहुन्थ्यो ।

आँखाको अपरेसन गरेर केही समयअघि मात्रै काठमाडौँबाट फर्केकी ती महिलालाई बिसन्चो भएपछि आफन्तले भरतपुरस्थित मेडिकल कलेजमा लैजानु भएको थियो । तर, उपचारकै क्रममा उहाँको मृत्यु भएको हो ।
उहाँको शवलाई नेपाली सेनाको सहयोग तथा आफन्तको उपस्थितिमा शनिबार चितवनमै दाहसंस्कार गरिएको छ ।

स्वास्थ्य शाखा बेखबर !
यसैबीच महिलाको मृत्यु भएको घटनामा मनहरी गाउँपालिका स्वास्थ्य शाखा बेखबर पाइएको छ । मनहरी ८ स्थित मनहरी अस्पताल र मृतकको निबास बीचको दुरी ५०० मिटर मात्रै फरक छ । तैपनि न त बिरामीबारे मनहरी अस्पतालले थाहा पायो, न त वडामा संचालित स्वास्थ्य इकाईले नै ।

घटनापछि गाउँपालिकाले बिरामी र परिवारको सोधखोज, घटना बिबरण संकलन गरी कन्ट्रयाक्ट ट्रेसिङ लगायतका कामहरु गरी सान्त्वनासहित सचेतना दिनुपर्नेमा त्यस्तो भएको पाइएको छैन । जनप्रतिनिधि सुवेदीले स्वास्थ्य शाखा प्रमुख टिकाराम अधिकारीलाई जानकारी गराउँदा समेत मृतकको अभिलेखीकरण गर्ने र स्वतन्त्र पुष्ट्याइँ गर्ने समेत काम नभएको पाइएको छ ।

‘जुन अस्पतालमा मृत्यु भएपनि मृतकबारे सम्बन्धित स्थानीय सरकारले अभिलेख राख्ने र परिवारलाई सान्त्वना दिने काम गर्न सक्नुपर्छ’, मनहरीका एक सचेत युवा भन्छन्–‘स्थानीय सरकार चुनिँदा मत दिएर जिताएका जनता महामारीमा मरिरहँदा गन्ती नै नगर्ने स्थानीय सरकारको तरिका ठीक होइन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here