मनहरी–बैशाख २८ गते । पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरी बजारका आसपासका क्षेत्रमा निषेधाज्ञाका बेला पनि होटल तथा कपडा पसलहरु खुलेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी बैशाख ३१ गतेसम्मका लागि जारी गरेको निषेधाज्ञाको अबज्ञा गर्दै अत्यावश्यक बाहेकका पसलहरु खुलेको पाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । उहाँ मंगलबार बिहान पश्चिम मकवानपुरको राजमार्ग क्षेत्र अनुगमनमा आउनु भएको थियो ।

अनुगमनपछि मनहरी लाइभ डटकसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो–‘केही अटो र बाइकहरु असरल्ल ढंगले चलेको र कपडा, मोबाइल, होटल लगायतका व्यापारिक प्रतिष्ठानहरु खुलेको पाइयो ।’ तत्काल त्यस्ता पसलहरु बन्द गर्न इलाका प्रहरी कार्यालय मनहरीलाई निर्देशन दिइएको र स्थानीय तहका अध्यक्ष एकराज उप्रेतीलाई पनि ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

उहाँले अटेर गरेमा प्रहरीले पक्राउ गरी संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने बताउनुभयो । सो ऐन अनुसार १ सय रुपियाँ जरिबाना र एक महिना कैद सजायँ हुनेछ । पटके भएमा ६ महिनासम्म कैद सजायँको व्यवस्था हुनेछ । मनहरीका राजमार्ग छेउछाउमै रहेका होटलहरुमा चिया र चिसो खाँदै बसेका मानिसहरुको भीड सहजै देख्न सकिन्छ । बाइक र अटोहरुले पनि अटेर गरी चलिरहेको पाइन्छ । यद्यपि प्रहरीले त्यस्ता अटो र मोटरसाइकललाई समातेर राख्ने गरेको र जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here