मनहरी–बैशाख २३ गते । मनहरी गाउँपालिकाभित्र बैज्ञानिक वन व्यवस्थापन गरिरहेका सामुदायिक वन उपभोक्ता समूहहरुले आगामी बैशाख ३० गते उपभोक्ताका लागि काठ बितरण गर्ने तयारी गरेका छन् ।

यहाँस्थित सबै सामुदायिक वन उपभोक्ता समूहहरुले काठ बितरण गर्न लागेका हुन् । सरकारले २०७७ जेठ १७ गते परिपत्र गरी सबै सामुदायिक वन उपभोक्ता समूहहरुमा काटिएका वन पैदावार सुरक्षित राख्न र बिक्री बितरण नगर्न आदेश दिएपछि एक बर्षयता उपभोक्ताले काठ पाएका छैनन् । काठ नपाउँदा भूकम्प पीडितहरुको घर निर्माण हुन सकेको छैन भने उपभोक्ता समूहका पदाधिकारीमाथि काठ बितरणका लागि चर्को दबाब छ ।

‘हामीले एक बर्ष काठ नबाँडी रोकेर राख्यौ’, ज्यामिरेकालिका सामुदायिक वन उपभोक्ता समूह मनहरी ९ का अध्यक्ष दीपक पुलामी भन्नुहुन्छ–‘अब दबाब झेल्न सक्दैनौ, उपभोक्ताले आफैले घाटगद्दीबाट काठ झिकेर लैजाने बेला भइसक्यो ।’ समूहले बैशाख २३ गते काठ बितरणका लागि उपभोक्तालाई आह्वान गरेको थियो । तर, सबै सामुदायिक वन उपभोक्ता समूहले बैशाख ३० गते एकैपटक उपभोक्तालाई काठ बितरण गर्ने सल्लाह गरेपछि रोकिएको अध्यक्ष पुलामीले बताउनुभयो ।

सबै वन समूहका पदाधिकारीहरु, जनप्रतिनिधिहरुसँग सल्लाह गर्दा एकसातासम्म सरकारको निर्देशन पर्खने कुरा भएकाले उपभोक्ताका लागि काठ बैशाख ३० गते बितरण गर्ने तयारी भएको पुलामीले जानकारी दिनुभयो ।

ज्यामिरेकालिका, सिमपानी देवकोट, मनकामना, पशुपति, डिपाड, सुनाचुरी लगायत सामुदायिक वनले काठ बिक्री बितरणको अनुमति दिनका लागि डिभिजन वन कार्यालय राप्तीमा पटक पटक लिखित र मौखिक आग्रह गरेका थिए ।

तर, काठ बितरणका लागि सम्बन्धित मन्त्रालयहरुमा सर सल्लाह र समन्वय भइरहेको डिभिजन वन कार्यालय राप्तीले जानकारी दिएको छ । कार्यालयले वन समूहहरुलाई लेखेको पत्रमा काठ बितरणका बहुपक्षीय पहल भइरहेकाले तत्काल काठ बिक्री बितरण नगर्न सामुदायिक वन उपभोक्ता समूहलाई सचेत पारिएको छ । जबरजस्त काठ बितरण गरेमा नियमानुसार कारबाही गरिने पत्रमा उल्लेखछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here