मनहरी–बैशाख २१ गते । पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरी बजारमा सञ्चालित ७ वटा मेडिकलको अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय हेटौँडा, उपभोक्ता अधिकार मञ्च, मकवानपुर उद्योग बाणिज्य संघ, प्रहरी र सञ्चारकर्मी सम्मिलित टोलीले मेडिकल, क्लिनिक र फार्मेसीहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बिना दर्ता फार्मेसी सञ्चालन गरिएको भन्दै बसन्त मेडिकल हललाई बन्द गर्न निर्देशन दिइएको छ । मनहरी अस्पताल अगाडि रहेको उक्त मेडिकल दर्ता प्रक्रिया पूरा नगरीकनै सञ्चालन गरेको पाइएको हो । बसन्त मेडिकल हल यसअघि मनहरी अस्पतालमा कार्यरत डाक्टर दीपेन्द्र पौडेलसहितको टोलीले सञ्चालन गरेको बुझिएको छ ।

यसअघि पनि महँगो मूल्यमा औषधी बेच्ने, औषधीको बीलमा दर, परिमाण र मूल्य नखुलाई एकमुष्ट बिल बनाउने लगायतका गुनासाहरु बसन्त मेडिकल हलका सम्बन्धमा ग्राहकहरुले गर्दै आइरहेका छन् । मनहरी अस्पतालमा निःशुल्क पाइने अथवा अस्पतालभित्रकै फार्मेसीमा सस्तोमा पाइने औषधीहरु केही स्वास्थ्यकर्मीहरुको ‘सेटिङ’ मा बसन्त मेडिकल हलबाट बिक्री हुनेगरेको गुनासोहरु आइरहेको थियो ।

यसैगरी टोलीले परिणति फार्मेसीलाई दर्ता प्रक्रिया पूरा गर्न, प्रजा मेडिकललाई बिरामीको उपचार नगर्न निर्देश दिएको छ । सबै मेडिकलहरुमा मास्क रु. ५ मा बिक्री गर्न र त्यसबारे सूचना टाँस गर्न टोलीले निर्देशन दिएको छ ।
स्वास्थ्य संस्थाहरु मनहरी गाउँपालिकाले व्यवस्थापन गर्दै आएको भएपनि नियमित अनुगमन र नियमन गर्न सकेको छैन । गाउँपालिकाका विभिन्न वडाहरुमा दर्ता र दक्ष जनशक्ति बिना नै मेडिकल सञ्चालन भइरहेको पाइएको छ । तैपनि गाउँपालिकाले कडाई गर्न सकेको छैन भने के कति संख्यामा निजी स्वास्थ्य संस्थाहरु छन् भन्नेबारे यकीन तथ्याङ्क पनि गाउँपालिकामा छैन ।

स्वास्थ्य संस्था व्यवस्थापन, नियमन, दर्ता लगायतको अधिकार स्थानीय तहलाई स्थानीय स्वायत्त शासन ऐन २०७४ ले दिएको छ । तर, मकवानपुरमा कार्यान्वयन गर्न सकेको छैन ।
यसैबीच सोही टोलीले मनहरी बजारस्थित एमडी स्टोर्सबाट म्याद गुर्जेको ठूलो परिणामको जुस लगायत खाद्यान्न जफत गरी नष्ट गरेको छ । टोली आएको थाहा पाएपछि जबरजस्त बन्द गरिएका मेनरोडका केही किराना पसलहरुलाई ब्लाक लिस्टमा राखिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here