मनहरी–बैशाख १८ गते । मनहरी गाउँपालिकामा शनिबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै मनहरी गाउँपालिका भित्र दोस्रो लहरको नयाँ कोरोना संक्रमण हुनेको संख्या ३८ जना पुगेको गाउँपालिकाले जनाएको छ ।
शनिबार मनहरी अस्पतालमा जाँच गरिएकामा हेटौँडा घर भई मनहरीमा काम गर्ने एक दम्पत्तिमा संक्रमण देखिएको पाइएको छ । त्यसैगरी वडा नं नखुलेका १ जना, वडा नं १ का २८ बर्षीया महिला र वडा नं ३ का ४४ बर्षीय पुरुष रहेका छन् । उनीहरुको हेटौँडामा जाँच हु्ँदा संक्रमण पुष्टि भएको हो ।
मनहरीमा रहेका संक्रमितहरु केही चितवनका अस्पतालमा र धेरैजसो भने होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य संयोजक अधिकारीले बताउनुभयो । हालसम्म संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको उहाँले बताउनुभयो ।
यसैबीच गाउँपालिकाले ८ नं वडाको सिम्पानीमा रहेको वडा कार्यालयमा पुनः आइसोलेसन कक्ष चलाउने तयारी गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । गतबर्ष पनि सोही स्थानमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको थियो ।