मनहरी–बैशाख १८ गते । निजी आवास निर्माणका लागि काठ नपाएपछि मकवानपुरका सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध भएका उपभोक्ताले सरकारको निर्देशनको अबज्ञा गर्ने तयारी गरेका छन् ।

संघीय सरकारले २०७७ साल जेठ २८ गते देशैभरका सामुदायिक वन समूहहरुमा वनपैदावारको उत्पादन, ओसारपसार तथा बिक्री बितरण समेत बन्द गर्न आदेश जारी गरेपछि एक बर्षदेखि उपभोक्ताहरुले काठ पाउन सकेका छैनन् ।

काठ नपाउँदा नयाँ घर निर्माण गर्न नसकिएको उपभोक्ताहरुले बताएका छन् । एकातिर भूकम्प पीडितको आवास पुननिर्माणलाई सरकारको उक्त आदेशले प्रभावित पारेको छ भने अर्काेतर्फ वनमै काठ कुहिन र आगलागीबाट नष्ट हुन थालेका छन् ।

एकबर्षदेखि काठ माग गर्दै आइरहेका उपभोक्ताले सहजै काठ नपाएपछि पश्चिम मकवानपुरका बैज्ञानिक वन व्यवस्थापनमा गएका सामुदायिक वनका उपभोक्ताहरु आन्दोलित भएका हुन् । मनहरी गाउँपालिका अन्तर्गतका सिमपानी देवकोट संयुक्त सामुदायिक वन, मनकामना सामुदायिक वन, ज्यामिरे कालिका सामुदायिक वन, हरियाली सामुदायिक वन, डिपाड सामुदायिक वन, पशुपति सामुदायिक वन र सुनाचुरी सामुदायिक वनका उपभोक्ताहरुले वनका पदाधिकारीलाई काठ माग गर्दै चर्काे दबाब दिन थालेका छन् ।

शनिबार बिहान मनहरी ८ स्थित सिमपानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहले सरकारको आदेश अबज्ञा गर्दै उपभोक्तालाई काठ बितरण गर्ने सूचना जारी बोलाएको थियो । लगत्तै डिभिजन वन कार्यालय राप्ती मनहरी, इलाका प्रहरी कार्यालय मनहरी, मनहरी गाउँपालिका अध्यक्ष, वडाध्यक्ष लगायत सरोकारवालाहरुले जंगलै पुुगेर काठ माग गर्ने उपभोक्ताको गुनासो सुनेका छन् ।

उपभोक्ताहरु, सामुदायिक वन उपभोक्ता महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती, गाउँपालिका अध्यक्ष एकराज उप्रेती, डिभिजन वन कार्यालय राप्तीका प्रमुख दीर्घनारायण कोइराला, वन समूहका अध्यक्ष नारायण उप्रेती, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक बिनोद श्रेष्ठ लगायतको छलफलले समस्या समाधानका लागि आइतबार प्रदेश सरकारसमक्ष पुनः ज्ञापन पत्र पेस गर्ने निर्णय गरिएको छ ।

ज्ञापन पत्र बुझाउँदा समेत उचित निर्देशन प्राप्त नभए समूहको नियम अनुसार उपभोक्तालाई काठ बितरण गरिने वन समूहका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । सिमपानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समूहले झै अन्य वन समूहले पनि काठ बितरण गर्ने तयारी गरेको छ ।
सबै सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरु सम्मिलित भेलाले उत्पादित काठ कुहिँदै गएको र आगलागी लगायतका कारणबाट नष्ट हुँदै गएका कारण बितरण गर्ने मनस्थिति बनाएको अध्यक्षहरुले बताएका छन् । ‘उपभोक्ताहरु एक बर्षदेखि फारम भरेर बसेका छन्’, ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक पुलामीले भने–‘अब उपभोक्ताको दबाब थेग्न सकिँदैन ।’

मकवानपुरमा राप्ती वन डिभिजन र हेटौँडा डिभिजन वन कार्यालय अन्तर्गत गतबर्ष कटान गरिएको करिब १ लाख क्युबफिट काठ गोदाममा घाटगद्दी गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here