मनहरी–बैशाख १० गते । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले महालेखा परिक्षकको कडा आपत्तिका बीच पनि शिक्षकलाई तलब भत्ता खुवाउने गरी स्थानीय तहले जोखिम मोलेको बताउनु् भएको छ ।

मनहरी गाउँपालिका ९ स्थित अग्निहोत्राश्रममा आयोजित‘ मनहरी गाउँपालिकाको शिक्षा नीति निर्माणको प्रयोजनको लागि बृहत अन्तरक्रियात्मक कार्यशाला गोष्ठी’ मा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो ।

कम दरबन्दी र बढी विद्यार्थी भएको गाउँपालिका भएकाले निजी स्रोतका शिक्षक राख्नुपरेको बाध्यता सुनाउँदै अध्यक्ष उप्रेतीले पिसिएफ कोटा समेत काटिएपछि स्थानीय सरकारको तर्फबाट केही मात्रामा मात्रै भए पनि सहुलियत दिने गरी व्यवस्था गरेको बताउनुभयो ।

‘महालेखा परिक्षकले हतकडी लाउने गरी हामीहरुलाई तर्साएको छ’, अध्यक्ष उप्रेतीले भन्नुभयो–‘गाउँका जनताका छोराछोरीले पढ्न पाउने व्यवस्था गर्दा हतकडी लाग्छ भने ठीकै छ भनेर जबाफ फर्काएका छौँ ।’
मनहरी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सामुदायिक विकास संगठन (सिडिओ) नेपालको समन्वय रहेको थियो ।

कार्यक्रममा शिक्षासँग सम्बन्धित सरोकारवालाहरुले शिक्षा नीतिका सम्बन्धमा सुझावहरु दिनु भएको थियो । गाउँपालिकाले स्थानीय पाठ्यक्रमको तयारी गरिरहेको छ भने शिक्षा नीतिलाई अन्तिम रुप दिन लागिरहेको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक महासंघ, शिक्षा समितिका प्रतिनिधि लगायत सरोकारवालहरु सहभागी हुनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here