हेटौँडा–बैशाख ६ गते । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता पुष्पकमल दाहाललाई जोडेर ‘माधव नेपाल माओवादीमा मिसियो’ भनेर साइबर स्यालहरुले हल्ला फिँजाइरहेको भन्दै एमाले नेता बिरोध खतिवडाले कटाक्ष गर्नु भएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहनु भएका संघीय सांसद खतिवडाले प्रचण्ड र माधव नेपालको सम्बन्धको चर्चा गर्ने साइबर स्यालहरुले बादल र ओलीको किन चर्चा नगरेको भनेर प्रश्न गर्नुभएको छ । ‘यतिखेर प्रधानमन्त्री ओली प्रचण्डहरु १७ हजार मान्छे मार्ने हत्यारा हुन् भनेर ब्याख्या गरिरहेका छन्’, खतिवडाले भन्नुभयो–‘अनि रामबहादुर थापा बादल चाहिँ मर्नुअघिका घाइतेहरुलाई पानी खुवाउँदै हिँडेका हुन् ?’

जनयुद्ध गलत थियो भने प्रचण्ड र बादलहरु पनि गलत थिए, सही थियो भने पनि प्रचण्ड र बादलहरु नै सही थिए भन्दै खतिवडाले एकै घटनाका एकजना चाहिँ हत्यारा हुने र अर्काे चाहिँ धर्मात्मा भएकाले मन्त्री बन्ने योग्यता पुग्ने कु्रा न्याय सम्मत नरहेको बताउनुभयो ।

उहाँले माधव नेपालले उठाएको विधिपद्धति र एजेण्डातर्फ लागेका ४० जना संघीय सांसदबारे ओलीको चिन्ता नरहेको र महन्थ ठाकुरको लुङ्गी उचालेर १४ जना सांसद खोजिरहेको भन्दै ब्यंग्य गर्नुभयो । भन्नुभयो–‘उहाँलाई ४० सांसदले कता मत हाल्लान् भन्ने चिन्ता छैन, १४ सांसद खोज्दै हुनुहुन्छ ।’ आफ्नालाई संरक्षण गर्न नसक्दा र बेवास्ता गर्दा कर्णाली प्रदेशमा दुर्दशा निम्तिएको उहाँको भनाई थियो ।

नेकपा एमाले जिल्ला कमिटी बैठकमा उहाँले यस्तो धारणा राख्नु भएको हो । कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्दै ओलीसँग सति जान नसकिने भन्दै खतिवडाले इतिहाँसमा पटक पटक कम्युनिष्ट पार्टीभित्र बिद्रोह भएको भन्दै आवश्यक पर्दा जस्तोसुकै बिद्रोहका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here