मनहरी-चैत २९ गते । माइती नेपालकी मकवानपुर संयोजक माया लामाले एउटा निकै टिठ लाग्दो घटना सुनाउनुभयो आइतबार मनहरीमा आयोजित एक कार्यक्रममा । घटनाको सार थियो–राक्सिराङ गाउँपालिकाकी ७ बर्षीया एक बालिकाको बिक्रीको प्रपन्च ।

हेटौँडा उपमहानगरपालिका ४ कमल डाँडामा अभिभावकका साथ डेरामा बस्दै आइरहेकी ७ बर्षीया बालिकालाई १९ बर्षीया एक भारतीय किशोरीले भारत पु¥याउने प्रपन्च रचिन् । तर, समयमै एकजना अटो चालकले साबधानी अपनाउँदा उनी बेचिनबाट बचिन् ।

गत बर्ष लक डाउनको बेला कमलडाँडामा चकलेट खुवाएर फकाउँदै किशोरीले बालिकालाई भारत जान आग्रह गरिन् । ‘भारतमा मेरो घरमा पनि तिमीजत्रै साना बालबच्चा छन्, उनीहरुलाई पनि साथी चाहिएको छ’ भनेर फकाएपछि फकिएकी बालिका र ती किशोरी अटो चढेर बसपार्क आइपुग्छन् । अटो चालकसँगको कुराकानीमा उनीहरु सिमरा पुग्ने बताउँछन् र त्यहाँसम्म अर्का भारतीय मानिस कार लिएर दुबैजनालाई लिन आउने बताउँछन् ।

सबारी साधन नचलेका बेला अटोचालकले आफ्नो अटोलाई एकपटक हेटौँडा बजार घुमाएर फेरि बसपार्क पुग्छन् । उनी बसपार्क पुग्दा पनि बालिका र किशोरी गाडी पर्खेर बसेको देखेपछि सोध्छन्–‘गाडी पाइएन ?’ त्यसपछि रु २ हजार भाडा तोकेर सोही अटो चढेर सिमरा पुग्न किशोरीले अटो चालकलाई राजी गर्छन् । र, बालिका र किशोरी दुबैलाई ती अटो चालकले प्रहरीकहाँ बुझाउँछन् ।

प्रहरी सोधखोजबाट यसअघि पनि केही बालबालिकालाई ती किशोरीले भारत पठाएको पुष्टि हुन्छ । र, किशोरीमाथि मानव बेचबिखनको मुद्दा चलाइन्छ । तर, किशोरीका अभिभावकले उनी १९ बर्षका होइनन्, १४ बर्षका हुन् भन्ने प्रमाण अदालत पेस गर्छन् । र, किशोरी एकाएक नाबालक प्रमाणित हुन्छन र सुधार केन्द्रमा पठाइन्छ ।

उल्लेखित घटना सुनिरहँदा जोकोहीको आङ सिरिङ्ग हुन्छ । ७ बर्षे बालिकालाई किन भारत लैजान खोजिन्छ ? चकलेट दिएर फकाएकै आधारमा बालिकाहरु किन फकिन्छन् ?

ग्रामीण जागरण तथा विकास संगठन नेपाल (राडो नेपाल) ले आयोजना गरेको यातायात सम्बद्ध संस्थाहरुसँग मनहरीमा आयोजना गरेको अन्तरक्रियामा बेचबिखनका विभिन्न रुपहरुबारे छलफल गरिएको हो । यौनकर्म वा सर्कसका लागि मात्र नभई बैदेशिक रोजगारी र अन्य गतिविधिहरुमार्फत बेचबिखन हुनेगरेको तथ्य छलफल कार्यक्रममा प्रस्तुत गरियो ।

यातायात व्यवसायीको तर्फबाट बोल्दै पुरानो नारायणी यातायात व्यवसायी कम्पनीका सदस्य इन्द्रकुमार भोलनले यातायात मजदुरहरु सचेत हुँदा पनि धेरै मान्छेको बेचिने क्रम रोकिने बताउनुभयो ।

कार्यक्रममा मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, यातायात व्यवसायी तथा समाजसेवी गौतम लामा, समाजसेवी नारायण उप्रेती, चन्द्रबहादुर बर्ताैला, सञ्चारकर्मी शिवकुमार काशी, प्लान इन्टरनेशनल र राडो नेपालका प्रतिनिधिहरुसहित सरोकारवालाहरु सहभागी हुनुहुन्थ्यो ।

राडो नेपालले प्लान इन्टरनेशनलसँगको साझेदारीमा सञ्चालन गरेको परियोजना अन्तर्गत शनिबार मनहरी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग पनि मानव बेचबिखन न्यूनिकरणका लागि अन्तरक्रिया र छलफल गरेको राडो नेपालका राजु राउतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here