मनहरी । चैत ११ गते । मकवानपुरको दुर्गम चेपाङ बस्तीमा भूकम्पका कारण भत्किएको एक विद्यालयले नयाँ पक्की भवन पाएको छ ।

राक्सिराङ गाउँपालिका वडा नं ७ काम्लेमा गैरसरकारी संस्थाको तर्फबाट निर्माण गरिएको भवन बुधवार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको टिकेढुंगा प्राथमिक विद्यालयको भवन लिसा हिमालया इभी जर्मनी र दिगो विकासका लागि एकता नेपालले पुननिर्माण गरी हस्तान्तरण गरिदिएको हो ।

पुननिर्मित २ कोठे शौचालय र ५ कोठे विद्यालय भवन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर चेपाङलाई लिसा हिमालया इभी जर्मनीका अध्यक्ष डानिला झारिङ र दिगो विकासका लागि एकता नेपालका अध्यक्ष अच्युतप्रसाद पौडेलले एक समारोहका बीच संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

९५ लाख ७० हजार २०६ रुपियाँ लागतमा निर्माण भएको विद्यालय भवनमा पाँच वटा कोठा रहेका छन् । साथै २ कोठे व्यवस्थित धारासहितको शौचालय पनि पुननिर्माण गरिएको दिगो विकासका लागि एकता नेपालका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

विद्यालय भवनसँगै डेस्क बेन्च, सेतोपाटी, बुक कर्नर ¥याक, बाल विकास केन्द्रका लागि बालमैत्री सामग्रीहरु समेत संस्थाले उपलब्ध गराएको छ । भवन हस्तान्तरणपछि राक्सिराङ गाउँपालिका ७ नं वडाध्यक्ष कुलबहादुर चेपाङले गैरसरकारी संस्थाको तर्फबाट भएको योगदानको प्रशंसा गर्दै निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।

लिसा हिमालया इभी जर्मनीका अध्यक्ष डानिला झारिङले शिक्षाले नै मान्छेको जीवनमा परिवर्तन ल्याइदिने भएकाले शिक्षा अनिबार्य गर्नुपर्ने भन्दै उदाहारणहरु प्रस्तुत गर्नु भएको थियो । झारिङ दम्पती जर्मनीबाट आएर १० बर्षदेखि राक्सिराङको शिक्षा र स्वास्थ्य सुधारका लागि काम गरिरहनु भएको छ ।

हस्तान्तरण कार्यक्रममा जनचेतना साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष दिनेश चेपाङ, राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल चेपाङ, सोही विद्यालयका प्रधानाध्यापक तारानाथ दुवाडी, टिकेढुंगा प्राथमिक विद्यालयका अध्यक्ष पूर्णबहादुर चेपाङ, सञ्चारकर्मी शिवकुमार काशी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने संस्थाका तर्फबाट अनिल पौडेलले स्वागत गर्नु भएको थियो ।

दिगो विकासका लागि एकता नेपालका अध्यक्ष अच्युत प्रसाद पौडेलको सभाध्यक्षता तथा राक्सिराङ गाउँपालिका ७ नं वडाध्यक्ष कुलबहादुर चेपाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा लिसा हिमालया इभी जर्मनीका स्टेफेन स्कुली नेपाल प्रतिनिधि अन्जनप्रसाद पौडेललगायत कर्मचारीहरु, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here