मनहरी । चैत ५ गते ।
सरकारले भूमिहीन दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासीका लालपुर्जा उपलब्ध गराउने काम अघि बढाएसँगै मकवानपुरको पाँच वटा स्थानीय तहले लगत संकलन प्रक्रिया अघि बढाएको छ ।
भूमि सम्बन्धी समाधान आयोगसँगको सम्झौता बमोजिम मकवानपुरको मनहरी, बागमती, मकवानपुरगढी र बकैया गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकाले लगत संकलन गरिरहेको छ ।
जस अनुसार मनहरी गाउँपालिका क्षेत्रमा मात्रै ८ हजारभन्दा बढीले जग्गा नापी तथा लालपुर्जा प्राप्तिका लागि अनुरोध गर्दै निवेदन दिएको मनहरी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकास्थित भूमि सम्बन्धी समस्या समाधान शाखाका प्रमुख राजेन्द्र चौलागाईका अनुसार ९ वटै वडामा गरी ८ हजार एक सय ९८ जनाले जग्गाप्राप्तिका लागि आवेदन गरेका छन् । तीमध्ये १३१ परिवार भूमिहीन दलित, ५५७ जना भूमिहीन सुकुम्बासी र ७ हजार ४९२ परिवार अव्यवस्थित बसोबासी रहेको चौलागाईले जानकारी दिनुभयो ।

हरेक वडामार्फत प्राप्त निवेदनहरुको प्रमाणिकरण गरी तत्कालै अनलाइन दर्ता र नापी प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।

नापी प्रक्रिया अघि बढाएर लालपुर्जा बितरणका लागि गाउँपालिकाले ३ जना अमिन नियुक्त गरिसकेको छ भने भूमि सम्बन्धी समस्या समाधान आयोगबाट २ जना सर्बेक्षक समेत प्राप्त भइसकेकाले काम द्रुत गतिमा अघि बढेको शाखा प्रमुख चौलागाईले बताउनुभयो ।

९ वटै वडामा लगत संकलनका लागि गाउँपालिकाले ४० जना तथ्याङ्क संकलकहरु नियुक्त गरी काम अघि बढाएको थियो । मनहरी गाउँपालिकाको अधिकाँश चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्छ । यस क्षेत्रमा लामो समयदेखि सार्बजनिक जग्गा अतिक्रमण गरी उपभोग हुँदै आएको छ ।

गाउँपालिकाका अनुसार नदी किनारमा तटबन्धन गर्दा मनहरी गाउँपालिकाभित्र सार्बजनिक र पर्ती जग्गा मात्रै ९९४ बिगाह निस्केको छ । भूमि बैँक स्थापना गरी उल्लेखित जग्गा सुकुम्बासी र दलित भूमिहीनलाई बितरण गर्नेबारे छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here