कैलाश । चैत ३ गते । मकवानपुरको दुर्गम क्षेत्रमा पर्ने कैलाश गाउँपालिका १ का सबै स्थानमा बिजुली बत्ती बलेको छ ।

वडाको फुलढुंगा र खोलाखर्कमा बत्ती बलेसँगै पूर्ण रुपमा वडाभरका ४२० घरपरिवारमा बिजुली बत्तीको पहुँच पुगेको वडाध्यक्ष पेमा योन्जनले जानकारी दिनुभयो ।

गत आर्थिक बर्षमै प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाको बिशेष पहलमा नेपाल विद्युत प्राधिकरणमार्फत यस क्षेत्रका जनप्रतिनिधिहरुको समेत सहजीकरणमा दुर्गमका गाउँमा उज्यालो पु¥याउने अभियान सुरु गरिएको थियो ।

सोही अभियान बमोजिम प्राधिकरणले बजेट बिनियोजन गरी कार्यान्वयन गर्दा कैलाश गाउँपालिका १ नं वडा पूर्ण रुपमा बत्ती बलेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी दिनुभयो । कैलाशसँगै थाहा नगरपालिका, भीमफेदी, इन्द्रसरोबर गाउँपालिकाका दुर्गम गाउँहरुमा पनि बिद्युतीकरणको काम भइरहेको छ ।

चैत ३ गते मंगलबार साँझबाट खोलाखर्क र फूलढुंगामा पनि बत्ती बलेपछि वडाभरि नै बिजुली पुगेको वडाध्यक्ष पेमा योन्जनले बताउनुभयो । वडाभरि नै बिजुली बत्ती पुगेको गाउँलेहरु खुसी भएका छन् । आफूले निर्बाचनका बेला गरेको प्रतिबद्धता पूरा गर्न सकेकोमा वडाध्यक्ष योन्जनले पनि खुसी ब्यक्त गर्नु भयो । ‘मैले चुनावमा बोलेको कुरा पूरा गरेँ’, वडाध्यक्ष योन्जनले भन्नुभयो–‘अब टेलिकमको सेवा बिस्तारका लागि पहल गर्नुपर्नेछ, यहाँ सञ्चारको असुविधा छ ।’

कैलाश गाउँपालिका वडा नं १ मकवानपुरको थाहानगरपालिकाबाट ३ घण्टाको यात्रापछि मात्रै पुगिने धादिङ सीमानासँग जोडिएको छ । बिजुली बत्ती बलेसँगै पर्यटन विकाससहित होमस्टे स्थापना लगायतका क्षेत्रमा पनि योगदान पुग्ने वडाध्यक्ष योन्जनले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here